काठमाडौं, ९ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितताविरुद्धको आन्दोलनलाई ऐक्यबद्धता जनाउन शनिबार माइतीघरमा मौन प्रदर्शन गरिएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीलगायतका व्यक्तिहरुले माइतीघरमा मौन प्रदर्शन गरेका हुन् ।
उनीहरुले चिकित्सा शिक्षाको जग भत्काउने काम तत्काल बन्द गर, ओइ सिंहदरबार किन पाल्छस् लुटतन्त्र, बीपीका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गर जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एल्मुनाईले करिब तीन हप्तादेखि हरेक दिन साँझ ४ बजे माइतीघरमा विरोध कार्यक्रम गर्दै आइरहेको छ ।प्रतिष्ठान अनियमितताका अनेक घटनाबारे विभिन्न कार्यदलले बुझाएका प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएका छन् ।
भ्रष्टाचार र कमिसनलाई बढावा दिने गरी भौतिक संरचना निर्माण र खरिद ऐन तथा नियमावलीविपरीत मेडिकल उपकरण खरिद भएको आधा दर्जन उच्चस्तरीय कार्यदलले नै औंल्याएका छन् ।कार्यदलले छानबिन गरी प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्रीको कार्यालयमा बुझाएका प्रतिवेदन सार्वजनिक नगरिएका हुन् ।
तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का तत्कालीन सचिव केदारबहादुर कार्कीको संयोजकत्वमा रहेको सात सदस्यीय उच्चस्तरीय कार्यदलले २०७५ भदौ १७ मा बुझाएको प्रतिवेदनले प्रतिष्ठानमा व्यापक अनियमितता भएको भन्दै विभिन्न सुझाव दिएको थियो । दुई महिनापछि कात्तिक २० मा तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले पनि प्रधानमन्त्रीलाई त्यस्तै प्रतिवेदन बुझाएको थियो ।
प्रतिष्ठान भ्रष्टाचार र कमिसनकै कारण अधोगतिमा लागेको भन्दै ३ सय जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका चिकित्सक, ३ सय फ्याकल्टी चिकित्सक, १५ सय विद्यार्थी, ६ सय नर्स २३ सय कर्मचारी संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएको ५ साता भएको छ ।
प्रतिक्रिया