बेपत्ता गोपालप्रसाद अर्याल १७ वर्षपछि घर फिर्ता


वालिङ, ७ साउन :
यहाँका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आउनुभएको छ । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता हुनुभएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किनुभएको हो ।

जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँड्नुभएका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताउनुभयो । “यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाउनुभयो”, पत्नी बलीकुमारीले भन्नुभयो, “उहाँहरुले भनेको ठाउँमा गएर हेर्दा त होइछ, अनि फर्काएर लिएर आएका हौं ।” घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चार जनाको परिवार पीडामा र सधैँ त्रासमा रहेको उहाँले सुनाउनुभयो ।

दश वर्षे द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको उजूरी आयोगमा परेपछि छानबिन आयोगले पीडित परिवारलाई भेट्ने क्रममा अर्याललाई घरमै परिवारसँग फेला पारेको थियो । 

त्यस्तै उता स्याङ्जाको पुतलीबजार नगरपालिका– २ का ५१ वर्षीय टुकबहादुर पौडेलको पनि उजूरी आयोगमा परेकामा उहाँ पनि परिवारसँगै रहेको पाइएको थियो । पौडेल २०५८ सालपछि बेपत्ता भएका र करीब १३ वर्ष घर नआएपछि परिवारका व्यक्तिले बेपत्ता भएको भनी आयोगमा उजूरी दिएका थिए ।

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति