यात्रा गर्दा वान्ता हुनेले यी उपाय अपनाउं


काठमान्डौ ७ साउन
यात्रा गर्दा हामी स्थलमार्ग, जलमार्ग र वायुमार्गमध्ये कुनै एक मार्गको प्रयोग गछौं। धेरैजसो मानिसलाई लामो दूरीको यात्रा गर्दा समस्या देखा पर्छ। यात्राको क्रममा कसैलाई वान्ता हुने समस्या हुन्छ।

कतिपय मानिसहरू यात्रा गर्दा आइपर्ने समस्याकै डरले यात्रा नगर्न पाए हुन्थ्यो भन्ने सोच्छन्।

लामो दूरीको यात्रामा हुने वाकवाकी, बान्ता आउनु, निद्रा नलाग्नु, पेट बटारिनु, जीउ दुख्नु आदि समस्यालाई अंग्रेजीमा मोसन सिकनेस या ट्राभल सिकनेस भनिन्छ।

सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिँगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ।

कारण

बसभित्र भीडभाड हुँदा हावाको कमी गुम्महुँदा, चुरोटको धुवाँ, सडकको धुलो, गाडीको धुवाँ, विपरीत दिशाबाट आउने जाने गाडीको चर्को आवाजले पनि धेरैलाई वाकवाकी हुन्छ ।

कतिपय व्यक्ति मदिरा सेवन गरेर, सुर्ती खैनी को सेवन गरेर यात्रा गरिरहेका हुन्छन। यसले गाडीभित्रको वातावरण दुर्गन्धित हुन्छ । यसले गर्दा टाउको दुख्ने, वाकवाकी लाग्ने समेत हुन्छ ।

त्यसैगरी,बस सोझो बाटोमा गुड्दा यात्रुलाई त्यति अप्ठ्यारो हुँदैन । तर, घुमाउरो र ओरालो बाटोमा गुड्दा समस्या बढी हुन्छ । घुमाउरो र उकालो–ओरालो बाटो पनि टाउको दुख्ने गर्छ।

वान्ता नआउने घरेलु उपाय

ल्वाङ्ग – ल्वाङ्ग मुखमा राखेर चुसेर यात्रा गर्दा पनि वान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ ।
अदुवा – अदुवा आयुर्वेदिक औषधिमा समेत अति नै प्रयोग गरिन्छ साथै रुघा खोकी, अरुची आदिमा पनि अदुवाको प्रयोग गरिन्छ ।

दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ ।

यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

कागती –कागतीलाई औषधीको रूपमा पनि लिइन्छ । यसमा पाइने साइट्रिक एसिडले उल्टी तथा वाकवाकी लाग्नबाट रोक्ने गर्छ ।

जामुन – जामुनको फल र यसका पातहरूमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीच–वीचमा अलि अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफूलका रुपमा प्रयोग गर्दा फाइदा पुग्छ ।

काँचो आँप– काँचो आँपले खानामा रुचि लगाउँछ, खाना पचाउन सहयोग गर्छ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्छ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बीच बीचमा पिउने गर्नुपर्छ। यसो गर्दा वान्ता हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

अन्य उपाय
मास्क प्रयोग गर्ने, टाढाको दृश्य हेर्ने, सकेसम्म हल्का भोजन गर्ने चिल्लो कम भएको दाल, भात, तरकारी खाने, दुग्धजन्य पदार्थ, अमिलो र गुलियो नखाँदा राम्रो हुन्छ।

कसैले बान्ता रोक्न अमिलो पदार्थ खाने गर्छन तर अमिलो पदार्थको सेवनले कसैको बान्ता रोकिए पनि सबैमा यो लागू हुँदैन । समस्यामा कमी नआएमा बान्ता रोक्ने औषधि प्रयोग गर्नुपर्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति