कोरोनाको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्रीलाई विज्ञको १८ बुँदे सुझाव

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै आठजना विज्ञले १८ बुँदे सुझाव पत्र बुझाएका छन् । सुझावको पहिलो बुँदामा योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने सुझाव छ । स्वास्थ्य प्रणालीको क्षमतालाई वृद्धि गर्न समेत उनीहरुले सुझाएका छन् ।

स्वास्थ्य प्रणालीको क्षमतालाई अधिकतम स्तरमा बढाउन जोड दिँदै घर र संस्थागत आइसोलेसन सेवा र समुदाय समर्थित ‘आफ्नो स्वास्थ्यको हेरचाह आफै गर्ने’ क्षमता अभिवृद्धि गर्न पनि जोड दिइएको छ । प्रतिष्ठानले आवश्यक औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टिन सेन्टर सञ्चालन गर्न जरुरी रहेको पनि औंल्याएको छ । अस्पतालहरुमा बेड, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि सुझाव दिइएको छ ।

यस्तै, सीमानामा रहेका जनताको आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्न, सहरका प्रत्येक वडा र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरूका लागि अक्सिजन बैंक हुनुपर्नेमा पनि प्रतिष्ठानले ध्यानाकर्षण गराएको छ ।

केही निजी र मेडिकल कलेजलाई केही समयका लागि अस्थायी कोभिड विशेष अस्पतालमा परिवर्तन गर्न पनि सुझाइएको छ । कोभिड–१९ महामारीको समयमा मानसिक स्वास्थ्य तथा नसर्ने रोगका बिरामीहरुको सेवा सुनिश्चित गर्न अत्यावश्यक रहेको भन्दै प्रतिष्ठानले कोभिड विशेष अस्पताल बाहेकका सरकारी र निजी अस्पतालहरुले कोभिड बाहेकका बिरामीलाई सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ ।

स्वास्थ्य सेवाहरुमा अवरोध खडा गर्ने सबैभन्दा ठुलो कारण नै लकडाउन हुने भन्दै प्रतिष्ठानले नेपालमा कोभिड–१९ समक्रमणभन्दा मुटु, फोक्सोको रोग, मस्तिष्कघात र पखालाका कारण बढी मानिसको मृत्यु हुन्छ भन्ने हेक्का राख्न आग्रह गर्दै बन्दाबन्दीमा यिनै कारणहरूबाट मृत्यु हुने सम्भावना बढी रहनेतर्फ ध्यानाकर्षण गराएको छ ।

राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहितको सुझाव तथा सल्लाहलाई मान्न पनि भनिएको छ । मागपत्रमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा। रीता थापा, डा। बद्रीराज पाण्डे, डा। अरुण उप्रेती, डा। शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा। अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले हस्ताक्षर गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति