विद्यार्थीलाई आफूखुसी नम्बर दिएको र प्रश्नपत्र बाहिर्‍याएको आरोपमा २ जना उपप्राध्यापक बर्खास्त


काठमाडौं, २२ असार ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ। ईञ्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरिएको हो।

यादवमाथि आफूखुशी विद्यार्थीलाई नम्बर दिएको आरोपमा बर्खास्त गरिएको हो भने पन्तलाई प्रश्नपत्र बाहिर्‍याएको भन्दै बर्खास्त गरिएको छ।

अक्षम्य शैक्षिक अपराध गरेकाले उनीहरुलाई बर्खास्त गरिएको विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बताए।

आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्ष विश्वविद्यालयले निकालेको हो। ‘उहाँहरुले अक्षम्य गल्ती गरेको भएर एउटा कमिटी बनाएर छानविन गरी निष्काशन गरिदिएका छौं,’ उपकुलपति सिंहले भने ।

यादव स्थायी हुन् भने पन्त करार सेवामा थिए। पन्तलाई यसअघि नै ३ महिनाका लागि निलम्बन गरिएको थियो। ‘उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको थियो, कमिटीको निष्कर्षपछि बर्खास्त नै गरिएको हो,’ सिंहले भने।

विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुसी नम्बर दिएको कमिटीको निष्कर्ष थियो।

उपकुलपति सिंहका अनुसार उनीहरुलाई सफाइको मौका दिएर बर्खास्त गरिएको छ। स्ट्रकचरल ईञ्जिनियरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापकले आफूखुसी नम्बर दिएको पाइएको छानविन समितिले भनाइ छ।

प्रयोगात्मक परीक्षा ४० पूर्णाङ्कको हुन्छ। उक्त परीक्षामा सहभागी १३ जना विद्यार्थीलाई सबै नम्बर दिएको पाइएको छ। कन्सट्रक्सन म्यानेजमेन्टका चार वटै विषयमा पनि विद्यार्थीहरुलाई ३४ देखि ३७ नम्बर दिइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति