काठमाडौं, १८ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समय दिएका छन् । आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु जनभावना विपरित भएको भन्दै ओलीले अनाधिकृत हस्ताक्षर फिर्ता लिन आग्रह गरेका हुन् ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘त्यस्तो अनधिकृत हस्ताक्षर बहुदलीय प्रणालीमा दलको निर्णय विपरित दलका सदस्यले गरेका हस्ताक्षरको कुनै मान्यता हुन नसक्ने, कुनै अर्थ हुन नसक्ने, त्यसको कुनै बैधता हुन नसक्ने कुरा पनि हामीले सम्बध्द सबेमा जानकारी गराउने निर्णय गरेका छौं।
बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध गराउने पनि बताएका छन् । कोरोना महामारीबाट सबै जनतालाई मुक्त गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै ओलीले छिटो खोप उपलब्ध हुने र लक्षित समूहलाई उपलब्ध गराउने जानकारी गराएको पनि उनले बताए ।
यस्तै बाढी पहिरोबाट विस्थापित भएर बेघर बनेकाहरुको पुर्नस्थापनाका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण पनि बैठकले गराएको छ ।
आजको बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम पनि सहभागी रहेका थिए । गौतमले पार्टी एकताका निम्ति थप प्रयत्न गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रधानमन्त्रीले त्यसलाई सकारात्मक रुपमा लिदैं पार्टी एकताका लागि आफ् निरन्तर लागिरहेको तर पार्टी एकताको अर्थ आफ्नो पार्टीलाई कमजोर गरेर अर्को बिपक्षी दललाई बलियो बनाउने काम गर्न नहुने बताए ।
प्रधानमन्त्रीले बिहीबार राती साढे ९ बजे नेता माधव नेपाललाई आज भेटन आग्रह गरेपनि नेपालले भेट्न अस्वीकार गरेको बैठकपछि ज्ञवालीले बताएका छन् । नेपाल लगायतका नेतालाई लक्षित गर्दै ज्ञवालीले भने, ‘केही साथीको भनाई र गराई पार्टी एकताको पक्षमा छैन त्यो यथार्थ हो। त्यो भित्र पनि साथीहरु एकताका लागि लागिरहनु भएको छ। आशा गरौं एकता चाहने साथीहरुको पहल सफल बन्नेछ।’
प्रतिक्रिया