काठमाडौं, २१ जेठ । पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विएल वाइबा नामले परिचित विष्णु बहादुर तामाङको निधन भएको छ । सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा आज राति निधन भएको हो । वाइबा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए। तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापा लगिएको थियो।
आम्दा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । एक साताअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।
नेता वाइबा तत्कालिन बामपन्थी नेता जयगोविन्द साहको प्रेरणाले सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए। सादा जीवन विताउन चाहने वाइवा सिरहालाई कार्य क्षेत्र बनाएर वामन्थी राजनीतिमा क्रियाशील थिए। वाइबाका तीन छोरा र दुई छोरी छन्।
उनको निधन भएपछि नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। दाहालले आज जारी गरेको विज्ञप्तिमा कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको उल्लेख छ भने वाइबा सादा जीवन, सरल र जुझारू भएको बताएका छन्। किसान र मजदूरबीच वाइबा लोकप्रिय रहेको पनि प्रचण्डको भनाइ छ।

प्रतिक्रिया