काठमाडौं, २१ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव लज्जाको विषय भएको बताएका छन्।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन्। मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय हो। आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेका छन्, प्रचण्डले भनेका छन्।
उत्पीडित समुदायले न्याय पाउने कानुनमा भएको व्यवस्था कडाईका साथ पालना गराउनुपर्नेमा उनको जोड रहेको छ। संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्छन्, प्रचण्डले भनेका छन्। तर अहिले संघर्षबाट प्राप्त उपलब्धि भने गुम्ने खतरा पैदा भएको उनको आशंका छ। सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी अहिले गुम्दै जाने खतरा पैदा भएको छ। सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता छ। सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिन्छ,प्रचण्डले भनेका छन्।
जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्नेपर्नेमा प्रचण्डको जोड रहेको छ।

प्रतिक्रिया