महन्थ र राजेन्द्र बालुवाटारमा, आज–सरकारमा जाने तयारी : हात मिलाएर आ-आफ्नो बाटो लागौं– भट्टराई

काठमाडौं,१७ जेठ ।  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषय छलफल गर्न उनीहरू बालुवाटार पुगेको बताइएको छ। अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ।

अध्यक्ष ठाकुरनिकट जसपाका एक कार्यकारिणी सदस्यका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन्।

हामीले आठ मन्त्रीसहित २ राज्यमन्त्री मागेका छौं। कुरा लगभग मिलिसकेको छ,’ ती कार्यकारिणी सदस्यले भने,‘आज वा भोलिमा सरकारमा जान्छौं होला।’

सांसद नरहेका सात जनालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि अहिले सात मन्त्रालय खाली छन्। रक्षा मन्त्रालय पनि प्रधानमन्त्री ओली आफैंले राखेका छन्।

यसैबीच जनता समाजवादी पार्टीभित्र विवाद बढेका बेला संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका छन्।

पार्टीभित्र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भन्नेमा विवाद छ।

अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानु पर्नेमा छ। पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीले असंवैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नु पर्नेमा छन्।

विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारबाहीको चेतावनी दिएका बेला भट्टराईले आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका हुन्।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘अतस् मान्छे तानातान र किनबेचको तमासा नगरौं१ भेडाभेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ, हात मिलाएर आ(आफ्नो बाटो लागौं१ हिडिरहे फेरि भेट हुनेछ,’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति