कांग्रेसले प्रचण्डपथ अंगिकार गरेर कुदेजस्तो छ – प्रधानमन्त्री ओली

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसविरूद्ध खनिएका छन्। आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री दाबी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष किर्ते हस्ताक्षर बुझाएको आरोप लगाएका छन्।

उनले नेपाली कांग्रेस पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्ता कब्जाको पथमा गएको बताए। ‘उनीहरू त हिजो लोकतान्त्रिक प्रणलीका विरूद्ध हतियार उठाएर गएका थिए। पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ।’उनले कांग्रेस नेता पुष्पा भुषालले प्रधानमन्त्री ओलीले गराउने चुनावमा आफूहरू सहभागी नहुने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए। उहाँले हिजोमात्रै भनेको सुनें ओलीले गरेको चुनावमा हामी सहभागी हुँदैनौं रे। कसले गर्ने चुनावमा जानुहुन्छ त उहाँहरू। आफूले चुनाव गराउने भए त जनताबाट मत ल्याएर आउनु पर्थ्यो नि,’ ओलीले भने, ‘उहाँहरू आफैंले गराएको चुनावमा २३ सिटमा झरेको होइन ?’ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र पनि बिग्रह ल्याउन खोजेको बताए।

‘अरू पार्टी फुटाएर बागी विद्रोही सिर्जना गरेर एउटा होइन, केही तत्वलाई उकासेर कोहीका किर्ते सही गराएर उहाँ जानुभयो,’ ओलीले भने,‘दलहरूमा विग्रह ल्याएर लोकतन्त्र बलियो हुन्छ त ?’ ओलीले यसअघि शनिबार शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको सम्मान नगरेको भन्दै आपत्ति जनाएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति