काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठले कोरोना महामारीको बेला कुनै पनि बहानामा कसैले हात उठाउन नमिल्ने बताए । कोरोना सङ्क्रमितका बिरामीले भरिभराउ रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज युसिएमएस र भीम अस्पताल भैरहवाको आज अलग अलग स्थलगत निरीक्षण गर्दै उनले भने, “हामी महामारीको युद्धसँग जुधिरहेको छ । यस्तो बेला अस्पतालले सङ्क्रमितको उपचार गर्न सक्दिन भन्न पाईदैन ।”
छलफलका क्रममा उनले युसिएमएसका प्रमुख प्रशासकीय अधिकृत कमल ढकाल सहितको टिमलाई अस्पतालमा रहेको अक्सिजन प्लान्ट तत्काल सञ्चालन गर्न निर्देशन दिए । प्रशासीय अधिकृत ढकालले भने “अहिले ९० श्यया एचडियू र १० श्यया आइसियू सञ्चालनमा रहेको भए पनि केही दिनदेखि अक्सिजनको अभाबले श्यया सङ्ख्या पनि कटौति गर्नुपरेको छ । अक्सिजन प्रयाप्त पाउने हो भने २०० श्यया कोभिडको लागि अस्पताल पूर्ण रुपमा चलाउन सक्छौं । ”
मन्त्री श्रेष्ठले जिल्लाको सरकारी अस्पतालको रुपमा रहेको भीम अस्पतालको व्यवस्थापकीय टीमसँग पनि छलफल गरे । छलफलमा अस्पतालका मेसु डा सकुन्तला गुप्ताले अस्पतालमा जनशक्तिको अभाव रहेकाले महामारीसँग जुध्न समस्या परिरहेको जानकारी दिए । रुपन्देहीमा तीन अक्सिजन उद्योग सञ्चालनमा रहेका छन् । जिल्लाको पडसरीमा लुम्बिनी अक्सिजन उद्योगमा दैनिक अढाइसय सिलिन्डर उत्पादन हुन्छ । उक्त उद्योगका व्यवस्थापक लेखनाथ भट्टराइले भने “विद्यूतको नियमितता भएमा अढाईसय सिलिन्डर उत्पादन हुन्छ ।
”यसैगरी जिल्लाको टिकुलीगढमा लुम्बिनी अक्सिजन प्रा लि ले दैनिक ३०० सिलिण्डर उत्पादन गर्दछ । उद्योगका व्यवस्थापक अर्जुन क्षेत्रीले भने, ‘२४ घण्टामा प्राविधिक समस्या भएन भने ३०० उत्पादन हुन्छ । एउटा सिलिन्डरमा १० के जी अक्सिजन हुन्छ । ” सेमरहवामा रहेको शंकर अक्सिजन उद्योगका व्यवस्थापक अविनाश रेग्मीका अनुसार उक्त उद्योगले दैनिक ६०० सिलिन्डर उत्पादन गर्दछ ।
प्रतिक्रिया