मजदूरको मृत्युपछि अरुण तेस्रोको काम ठप्प

काठमाडौं । सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजना स्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम सञ्चालन गर्ने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

बुधबार बिहान साढे ८ बजे सुरुङभित्र बारुद राख्ने गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुर शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका थिए । विद्युत् गृह निर्माणको जिम्मेवारी पाएको पटेल इञ्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदार दिनभर आन्दोलित भएका थिए । शव व्यवस्थापनका लागि चन्दा सङ्कलन गर्ने भनेपछि कामदारले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदारहरु आक्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि रु ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताए । अन्त्यमा आयोजनाले रु ३० लाख दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइ रामले बताए ।

मृत्यु भएका मजदूरको शव परिवारले जिम्मा लिए पनि विद्युत् गृहको निर्माण कार्य शुरु हुन सकेको छैन । काम गर्ने सहज वातावरण नभएको भन्दै सहज परिस्थिति नभएसम्म काम शुरु गर्न नसक्ने भारतीय सतलज जलविद्युत् निगम प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताए । नेपाल सरकारले सुरक्षाको प्रत्याभूति गराए मात्र आयोजनाको काम शुरु गर्न सक्ने उनले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति