भारतमा कोरोना संक्रमणदरमा कम हुँदै, मृत्युदर भने उस्तै

काठमाडौं, १ जेठ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिने क्रम घट्दै गएको छ । तर कोरोनाका कारण हुने मृत्युको सङ्ख्या भने उस्तै रहेको छ । सङ्क्रमित बनेर दैनिक मृत्युवरण गर्नेको सङ्ख्यामा भने कमी हुन नसकिरहेको हो । दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या भने कम हुँदै गइरहेको छ ।यसअघि दैनिक चार लाखसम्म सङ्क्रमित भेटिने गरेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख २६ हजार दुई सय २९ जना नयाँ बिरामी थपिए । अघिल्लो दिन भारतमा तीन लाख ३८ हजार १९ जनामा कोरोना पुष्टि भएको थियो ।

अघिल्लो दिनको तुलनामा नयाँ थपिएको सङ्ख्या ११ हजार सात सय ९० ले कम हो । दैनिक सङ्क्रमण कम हुँदै गइरहे पनि सामान्य उतारचढावबाहेक मृत्यु हुनेको सङ्ख्या भने घट्न सकिरहेको छैन ।पछिल्लो २४ घण्टामा भारतमा तीन हजार आठ सय ७९ जनाको मृत्यु भयो । अघिल्लो दिनको तुलनामा मृत्यु हुनेको सङ्ख्या नौ ले मात्रै कम हो ।

अघिल्लो दिन तीन हजार आठ सय ८८ जनाको मृत्यु भएको थियो । भारतमा हालसम्म दुई करोड ४३ लाख ७२ हजार दुई सय ४३ जनामा कोरोना पुष्टि भइसकेको छ । कोरोनाका कारण दुई लाख ६६ हजार दुई सय २९ जनाको मृत्यु भइसकेको छ ।नेपालसँग खुला सीमा रहेको भारत कोरोनाका कारण नराम्ररी प्रभावित बनिरहेको मुलुक हो । भारतमा कोरोनाले भयावह अवस्था बनाउँदा त्यसको प्रभाव छिमेकी मुलुक नेपालमा पर्नु स्वभाविक हो ।

विज्ञका अनुसार बेलैमा सावधानी अपनाएर भारतबाट हुने अवैध आवतजावत रोक्न सकेको भए नेपालमा कोरोनाले त्यति ठूलो असर पार्ने थिएन । तर सरकारी तवरबाटै त्यसलाई बेवास्ता गरिँदा अहिले नेपाल कोरोना भाइरस सङ्क्रमणको नराम्रो दलदलमा फसेको छ । नेपालले पनि कोरोनाका कारण कठिन परिस्थितिको सामना गर्नु परिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति