काठमाडौं, ३१ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्रीको पदमा सपथ लिएका छन्। पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। प्रधानमन्त्री ओलीले शुक्रबार देश जनताका नाममा सपथ लिएका हुन्। शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।
राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए। तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादीलगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः मुलुकमा दुई तिहाईबाट अल्पमतको प्रधानमन्त्री बनेका हुन्।
प्रतिक्रिया