भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु, तीन लाख ६८ हजार संक्रमित



नयाँ दिल्ली, २० बैशाख भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ ।

गत शनिबार दैनिक संक्रमितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ । भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको छ ।

मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन् । गत २४ घण्टामा तीन लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । यो सहित भारतमा कूल संक्रमितमध्ये १ करोड ६२ लाख संक्रमणमुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार, भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ । आइतबार मात्र भारतमा १५ लाख नमुना परीक्षण गरिएको छ ।

पछिल्ला दिनमा आक्रामक रुपमा कोभिड खोप अभियान सञ्चालन गरेको भारतमा हालसम्म १५ करोड ७२ लाखलाई खोप दिइएको छ ।

भारतमा कोभिडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सिर्जना गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख १६ हजार नाघेको छ ।

कोभिडको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख १८ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख १० हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ ।(एएनआई) –
––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति