मौलिक सिर्जनाबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि : राष्ट्रपति

काठमाडौँ, २ वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा विकसित कलाको सिद्धान्त र प्रवृत्तिको अध्ययन गरी मौलिक सिर्जनाका माध्यमबाट देशको प्रतिष्ठा अभिवृद्धि गर्नेतर्फ कलाकार अग्रसर हुनुपर्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७८’ को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकमा समृद्धि हासिल गर्ने साझा यात्रामा अघि बढिरहेको सन्दर्भमा कलाकार राज्यको यस सङ्कल्पलाई गहिरोसँग आत्मसाथ गर्दै विकास प्रक्रियामा सबैलाई जागरुक, जिम्मेवार र सक्रिय बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठान नेपाली मौलिक कलाको अध्ययन अनुसन्धान गर्न गराउन तथा विशुद्ध नेपाली पहिचानसहित अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गर्ने कलाको विकास गर्न नेतृत्वदायी भूमिका खेल्नुुपर्ने उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “प्रतिष्ठान स्थापनाको वास्तविक उद्देश्य पनि यही हो भन्ने मलाई लागेको छ ।” कुनै पनि मुलुकको कलाको स्तरबाट त्यहाँको सभ्यताको विकास मापन हुने जानकारी दिँदै उहाँले कला सिर्जनामा जीवन र जीवनका सङ्ग्रहहरु हुने उल्लेख गर्नुभयो ।प्राचिनकालदेखि नै जीवन­जगतलाई बुझ्ने र बुझाउने साहित्य तथा सङ्गित जस्तै ललितकलाको पनि साधना चल्दै आएको राष्ट्रपति भण्डारीको भनाइ थियो । उहाँले विविध सांस्कृतिक सम्पदायुक्त मुलुक मौलिक कला र संस्कृतिले सम्पन्न रहेको स्मरण गर्नुभयो । उहाँले अनुपम प्राकृतिक सुन्दरताले सजिएको यहाँको परिवेशले सर्जकलाई सिर्जना कार्यमा उत्प्रेरित गरिरहेको अनुभव सुनाउनुभयो ।

कला प्रष्फुटनका निम्ति प्रतिष्ठानले उपलब्ध गराएको वातावरणको थप उपयोग गर्न उहाँले कलाकारलाई आग्रह गर्नुभयो ।कला सिर्जनामा प्रोत्साहन गर्ने प्रतिष्ठानको अभियानको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले प्रसिद्ध कलाकार अरनिकोको कालजयी सिर्जनाले नेपालमा मात्रै नभई विश्वमा ख्याति कमाएको दृष्टान्त जीवित रहेको सुनाउनुभयो । उहाँले जीवन र जगतका रहस्य खोज्ने तथा बोध गराउने पौभा, थान्का, मण्डल वृत्तचित्र, काष्ठकला, मूर्तिकला तथा ग्रन्थचित्रले हाम्रो समाजको विकासक्रम र परम्परालाई चित्रण गरिरहेको जानकारी गराउनुभयो । उहाँले मध्यकालमा रचना गरिएका वास्तुकलाका अद्धितीय सिर्जना आजसम्म जीवित बनेर रहेको बताउनुभयो । विनासकारी भूकम्प तथा कोभिड–१९ महामारीले सिर्जना गरेका अनेकौँ प्रतिकुलताका साथ श्रोत र सीमामा बाँधिएर पनि ललितकलाको विकासमा प्रतिष्ठानले उल्लेखनीय कार्य गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो ।

समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कुनै पनि कानून, नीति, योजनाका अभावमा अफ्ठयारो परेको भए त्यसलाई हटाउन सरकार तयार रहेको जानकारी गराउँदै बजेटमाथि छलफलको समय भएकाले प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो । उहाँले वर्तमान अवस्थामा कोभिड­१९ को प्रभाव कायमै रहेको र सङ्क्रमण नयाँ ढङ्गबाट अघि बढिरहेकाले सरकार विशेष अध्ययनका साथ नियन्त्रणमा अघि बढेको जानकारी दिनुभयो ।समारोहमा प्रतिष्ठानका अध्यक्ष कान्छाकुमार कर्माचार्यले विसं २०७२ को भूकम्प र कोभिड­१९ को महामारीले कला क्षेत्रकै महोत्सव मानिने प्रदर्शनीलाई खुम्च्याएको जानकारी गराउँदै यसपटक भने पुनःआफ्नै भवनमा प्रदर्शन आयोजना गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार र सदस्य सचिव विपिनकुमार घिमिरेले ललितकला प्रदर्शनी र प्रतिष्ठानका बारेमा भनाइ राख्नुभएको थियो । उक्त समारोहमा कुलपति कर्माचार्यले आफैँले बनाएको राष्ट्रपति भण्डारीको मुहार चित्र उहाँलाई हस्तान्तरण गर्नुभएको थियो । समारोहमा राष्ट्रपति भण्डारी र मन्त्री ढकालले सम्मानित तथा पुरस्कृत कलाकार तथा पत्रकारलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान प्रदान गर्नुभएको थियो । ­­­

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति