आगलागी र सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

काठमाडौं । पर्सा, धादिङ, भोजपुर र कैलाली जिल्लामा आज भएका सडक दुर्घटना, सुनसरीमा करेन्ट लागेर तथा प्यूठानमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारास्थित रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाको तथा इटहरी उपमहानगरपालिका–५ शान्ति चोकमा डिसहोमको तार जोड्ने क्रममा ललितपुरको महाकाल गाउँपालिका–४ का २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी टीकापुर नगरपालिका–१ सन्त निरङ्कारी चोकमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पद्मा साउद तथा भोजपुरको हतुवागडी गाउँपालिका–२ लुङ्गिनस्थित सडकमा ट्याक्टर पल्टिदा त्यसका सहचालक २० वर्षीय नवीन राईको घटनास्थलमै मृत्यु भएको छ । धादिङको खनियाबाँस गाउँपालिका–२ डुन्डुरेमा सडकबाट खस्दा रुविभ्याली गाउँपालिका–५ लापा बस्ने १४ वर्षीय अनिल तामाङको पनि घटनास्थलमै मृत्यु भएको तथा वीरगञ्ज महानगरपालिका–३१ न्यकाटोलमा ट्र्याक्टरको ठक्करबाट सात वर्षीय शेख साहिदको ज्यान गएको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति