सेरम इन्स्टिच्यूटलाई खोप उत्पादनमा रकम अभाव : पूनावाला

मुम्बई, २५ चैत । भारतमा अस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताए । खोप उत्पादनमा सेरम इन्स्टिच्यूट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतमै कोभिडका विरामीको संख्या ह्वात्तै बढेपछि गत महिना अस्ट्राजेनिकाको खोप निर्यातमा रोक लगाएको थियो । प्रमुख कार्यकारी पूनावालाले भारतीय संचार माध्यम एनडिटिभीलाई दिएको अन्तर्वार्तामा सेरमका खोपको माग विश्वभर रहेको तर अहिले भारतमै आपूर्ति गर्नु परेको बताए ।

उनले कम्पनीलाई आफ्नो क्षमता बढाउन ४० करोड ८० लाख डलर थप आवश्यक परेको बताउँदै कम्पनीले भारत सरकारसँग वित्तीय सहायताका लागि आग्रह गरिएको जानकारी दिए ।विगतमा आफूहरुले खोप निकासीबाट आर्थिक स्रोत जुटाउने लक्ष्य राखिएको भए पनि हाल भारतमै सीमित हुनुपर्दा खोप उत्पादनमा असर परेको उनले बताए । सेरम इन्स्टिच्यूटले कोभिसिल्ड खोप प्रतिदिन २० लाख डोजभन्दा बढी उत्पादन गरिरहेको छ, र यो खोप भारतमा अनुदानको रुपमा प्रति डोज करिब १५० भारतीय रुपैयाँमा उपलब्ध गराइरहेको छ । तर यही खोप निर्यात गर्दा सेरमले बढी मूल्य लिने गर्दछ ।

सेरमले विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभाक्सलाई २० करोड डोज खोप उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति