वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

काठमाडौं । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन् । उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उनले बताए ।

“वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ”, उनले भने, “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक यस्तो समस्या लिएर बढी पुग्न थालेका छन् ।” वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन् ।

वायु प्रदूषणबाट प्रभावित हुनसक्ने व्यक्तिलाई घर बाहिर नजान आग्रह गरिएको भीमदत्त नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाले बताए । वायु प्रदूषण बढेपछि सार्वजनिक सूचना नै जारी गरेर यसबारे आग्रह गरिएको उउनले बताए ।

“अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र जानैपर्ने अवस्थामा विशेष सावधानी अपनाई मास्क लगाउन भनेका छौँ”, उनले भने “आगो बाल्दासमेत वायु प्रदूषण झन् बढ्ने भएकाले फोहर बाल्ने, गहुँखेतमा बाँकी रहेको भुसा तथा छाली जलाउनेजस्ता काम नगरिदिन भनेका छौं । धुलोधुवाँ उड्ने खालका पेशा, व्यवसाय निर्माण कार्य गर्दा धुँवाधुलो नउड्ने व्यवस्था मिलाउन हुनसमेत अनुरोध गरेका छौँ ।”

रातिको समयमा हावाको तापक्रम घट्न गई वायु प्रदूषण जमिनको सतह नजिक बढी हुने भएकाले वातावरणीय अवस्थामा सुधार नहुञ्जेल बिहानीको समयमा घरबाहिर गएर शारीरिक व्यायाम, प्रातः भ्रमणलगायतका कार्यसमेत नगर्न भनिएको उहाँको भनाइ छ । प्रदूषणका कारण दिउँसै बादल लागेजस्तो देखिन थालेपछि स्थानीय तहले स्थानीय बासिन्दालाई सार्वजनिक सूचना जारी गरी सचेत पार्दै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति