काठमाडौं । नेपालमा रेडियो प्रशारण सुरु भएको ७० वर्ष पुरा भएको छ । रेडियो नेपाल नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयको स्वामित्वमा सञ्चालित सरकारी रेडियो प्रसारण सेवा हो । यसको स्थापना वि.सं. २००७ चैत्र २० गते भएको थियो ।
रेडियो नेपालको प्रसारण अनलाइन, स्थानीय रेडियो स्टेसन र मोबाइल मार्फत उपलब्ध छ । मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपालले हाल २१ भाषाहरूमा समाचार र १८ भाषाहरूमा कार्यक्रम प्रसारण गर्दै आइरहेको छ । रेडियो नेपाल सर्वप्रथम वि. सं २००३ साल मंसिर महिनामा हाल विद्युत् प्राधिकरण रहेको भवनबाट ५ वाटको शक्तिबाट आरम्भ भयो । यो प्रसारण सात–आठ महिनासम्म मात्र सीमित रही बन्द भयो ।
जहानियाँ राणा शासनको अन्त्य गर्ने उद्देश्यले २००६ सालमा विराटनगरमा एक आकाशवाणी केन्द्रको स्थापना गरिएको थियो । सशस्त्र संघर्षका समाचार प्रसारण गर्न यो रेडियो केन्द्र अत्यन्त उपयोगी माध्यम साबित भएको थियो । २००७ सालको क्रान्ति बन्द भएपछि उक्त रेडियो केन्द्रलाई विराटनगरवाट काठमाडौको सिंहदरबार सारी रेडियो नेपालको नामवाट २००७ साल चैत्र २० गतेवाट प्रसारण शुरु गरियो । नेपालजस्तो साक्षरता तथा शिक्षाको पहु“च कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् ।
प्रतिक्रिया