कर बुझाइँदै : जग्गा कहाँ छ थाहा छैन

काठमाडौं । नेपाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखा ताप्लेजुङको नाममा १५० रोपनीभन्दा बढी जग्गाको मालपोत कार्यालयमा कर तिर्ने काम मात्र हुँदै आएको छ तर जग्गा कहाँ कसले भोगचलन गर्दै आएको छ, कार्यालयसँग कुनै तथ्याङ्क छैन । कम्पनीको नाममा चार स्थानीय तहमा विभिन्न स्थानमा जग्गा छ भनिए पनि कहाँ छ भन्ने कम्पनीसँग कुनै जानकारी छैन ।

कागजी स्रेस्ताअनुसार मालपोतमा राजश्व बुझाउने काम भने खाद्य संस्थाको जिल्ला कार्यालयले गर्दै आएको कम्पनीको ताप्लेजुङ शाखा प्रमुख तुलमाया लोवाले बताए । सदरमुकाम फुङ्लिङमा तीन रोपनी एक आना दुई पैसा एक दाम जग्गा छ । यहाँ कम्पनीको गोदाम घर र कार्यालय सञ्चालन भइरहेको छ । केही खाली क्षेत्रमा कर्मचारीले बेलाबेलामा सागसब्जी रोप्दै आएका छन् । एक हजार ५७५ नम्बरको एउटै कित्ता रहेको स्रेस्तामा उल्लेख छ ।

मैवाखोला गाउँपालिकामा दुई कित्ता जग्गा छ । तीन सय ७१ कित्ताको दुई रोपनी १४ आना तीन पैसा दुई दाम र ३६९ नम्बरको कित्तामा ११ आना तीन पैसा तीन दाम जग्गा रहेको कार्यालयले जनाएको छ । सबैभन्दा बढी जग्गा आठ राई त्रिवेणी गाउँपालिका तीन हाङ्पाङमा छ । यहाँ छ कित्ता जग्गा रहेको खाद्यले जनायो । अठहत्तर नम्बर कित्तामा १४ रोपनी १३ आना २ दाम, २१३ नम्बर कित्तामा नौ रोपनी एक दाम दुई पैसा, २१४ नम्बर कित्तामा पाँच रोपनी नौ आना, ८९ नम्बर कित्तामा १२ रोपनी आठ आना दुई पैसा दुई दाम, ११५ नम्बर कित्तामा ११ रोपनी १५ आना तीन पैसा दुई दाम र ४४२ नम्बर कित्तामा ११ रोपनी १४ आना तीन पैसा जग्गा रहेको स्रेस्तामा उल्लेख छ ।

आठराई त्रिवेणी गाउँपालिकामा ६५ रोपनी जग्गा कम्पनीको नाममा छ । सो जग्गा कसले भोग चलन गर्दै आएको छ भन्ने तथ्याङ्क नभएको कम्पनीको शाखा कार्यालयका प्रमुख लोवाले बताए । जग्गाको स्रेस्ता छ तर जग्गा कहाँ छ कुनै पत्तो छैन । उनले भने“केही जग्गा पत्ता लागेको छ । बाँकी खोजी भइरहेको छ ।” अहिलेसम्म मालपोतमा तिरो तिर्ने काम मात्रै भइरहेको लोवाले बताए । कम्पनीको जग्गा फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिंवा बजारमा ३६३ कित्ता नम्बरको दुई आना एक पैसा दुई दाम देखिएको छ । खाद्य कम्पनीको गोदम बेवारिसे अवस्थामा छ । फक्ताङलुङ गाउँपालिका–३ खेजिनेमा ४३ रोपनी तीन आना एक दाम जग्गा कम्पनीको नाम रहेको छ । अठ्तिस कित्ता नम्बर जग्गामा २४ रोपनी आठ आना तीन दाम जग्गा संस्थानको नाममा हरेको छ ।

पचहत्तर किता नम्बर जग्गामा तीन रोपानी एक आना दुई पैंसा तीन दाम संस्थानको नाममा हरेको छ । तीन सय ३७ कित्ता नम्बर जग्गामा चार रोपानी छ आना तीन पैसा तीन दाम संस्थानको नाममा हरेको छ । एक सय ३४ कित्ता नम्बर जग्गामा ११ रोपनी दुई आना संस्थानको नाममा जग्गा रहेको तथ्याङ्क छ ।

यो कम्पनी नेपालकै जग्गाको हिसाबले धनी रहेको छ । कम्पनीको पहाडदेखि तराईसम्म जग्गा प्रशस्त छ । कम्पनीले जग्गाको स्रेस्ता मात्र धेरैको छ । विसं २०३७ सालतिर खाद्य ठेकेदारमार्फत गाउँगाउँमा खाद्य संस्थानको चामल बिक्री वितरण हुने गथ्र्यो । ठेकेदारले गाउँघरको जग्गाको धनी पूर्जा खाद्य संस्थानको कार्यालयमा धितो राखेर चामल आवश्यकताअनुसारको कार्यालयबाट चामल लिएर ठेक्का गरेको कम्पनीका प्रमुख कार्यालय काठमाडौँका सम्पत्ति विभाग प्रमुख माधव अर्यालले बताए ।

ताप्लेजुङमा पहिलो नापनक्शा हुँदा खाद्य संस्थानको नाममा सदरमुकाम फुङ्लिङ–५ मा कम्पनीको कार्यालय रहेको तीन रोपनी एक आना दुई दाम एक पैसा जग्गा जिल्ला नापी कार्यालको अभिलेखमा छ । जिल्लामा पहिलोपटक २०४६ सालमा नापी भएको थियो । विसं २०४६ वैशाख १८ गते जग्गा नापनक्शा भएर खाद्य संस्थानको नाममा गएको नापी कार्यालयको अभिलेख छ ।

त्यस्तै मैवाखोला गाउँपालिका–४ साविक हाङपाङ–७ मा ३६९ र ३७१ किता नम्बरको जग्गा ४८/३४ बैठक नम्बरको निर्णयले २०५८ पुस २ गते ताप्लेजुङ जिल्ला अदालतको चलानी समेतबाट डिल्लीरमणको जग्गा खाद्य संस्थानको नाममा गएको जिल्ला मालपोत कार्यालयको अभिलेखमा जनाएको छ ।

आठराईत्रिवेणी गाउँपालिका–४ साविक हाङपाङ–७ मा रहेको जग्गा ७८, २१३ र २१४ कित्ता नम्बरको जग्गा २०४८ साउन ७ गते नन्दकुमारी लिम्बूको खाद्य संस्थानको नाममा आएको अभिलेखमा जनाइएको छ । उनानब्बे हजार ११५ र ४४५ कित्ता नम्बरको जग्गा २०५० पुस ९ गते सुमित्रा लिम्बूको जग्गा खाद्य संस्थानको नाममा आएको जिल्ला अदालतको अभिलेखमा जनाएको छ ।

फक्ताङ्लुङ गाउँपालिका–२ साविक लिङ्खिम–९ मा ३६३ कित्ता नम्बरको जग्गा २०४९ साल असोज १३ गते भीमप्रसाद बरालको जग्गा खाद्य संस्थानको नाममा पास भई आएको नापी कार्यालयको अभिलेखमा जनाएको छ । साथै, फक्ताङ्लुङ गाउँपालिका–२ साविक खेजेनिम–८ मा ६८ हजार ७५ र ३३६ कित्ता नम्बरको जग्गा २०६० वैशाख १६ गते डम्बरबहादुर लिम्बूको नाममा रहेको जग्गा खाद्य संस्थानको नाममा आएको अभिलेखमा छ । त्यस्तै हस्तबहादुर कार्कीको कित्ता नम्बर १३४ जग्गा २०६० वैशाख १६ गते खाद्य संस्थाको नाममा आएको जिल्ला मालपोत कार्यालय ताप्लेजुङले जनाएको छ ।

कम्पनीको नाममा रहेको जग्गा भोकचलन हुँदै आए पनि कम्पनीको नाममा जग्गा हो भनेर अहिलेसम्म थाहा नभएको फक्ताङ्लुङ गाउँपालिका–२ का वडाध्यक्ष हर्कसिंह पराजुलीले बताए । आफनो वडामा कम्पनीको जग्गा रहेको छ भन्ने आफूले समेत जानकारी नभएको पराजुलीले बताए । जग्गा भए पनि गाउँ छाडेर तराईतिर बसाइँ गएको मैवाखोला गाउँपालिकाका उपाध्यक्ष कौशिला लिम्बूले बताए ।

कम्पनीको अचल सम्पत्तिको रुपमा तराईदेखि पहाडसम्म जग्गा रहेको तथ्याङ्कमा छ । कम्पनी आफैँले पनि आफ्नो नाममा रहेको जग्गाको रेखदेख गर्न सकेको छैन । फुङ्लिङमा रहेको जग्गाबाहेक अन्य स्थानमा रहेको जग्गा कसको नामबाट आएको हो, सोही व्यक्तिले किन्न चाहेमा कम्पनीले दिनसक्ने नेपाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका प्रमुख कार्यालय काठमाडौँका सम्पत्ति विभाग प्रमुख माधव अर्यालले बताए । स्थानीयस्तरमा जग्गाको चलनचल्तीको हिसाबले कम्पनीबाट किन्न सक्ने अर्यालले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति