राष्ट्रपति भण्डारी ढाका पुगिन् :यस्तो छ नेपाल–बंगलादेश सम्बन्ध


काठमाडौं, ९ चैत्र । बंगलादेशको दुई दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुगेकी छन् । आज बिहान ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गरी नेपाल एयरलाइन्सको न्यारोबडी जहाजमार्फत ढाका पुगेकी हुन् ।बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारीको औपचारिक भ्रमण भएको हो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीसहित सार्क राष्ट्रका अन्य दुई राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ । माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोली र श्रीलंकाका प्रधानमन्त्री माहिन्दा राजापाक्षे यसअघि नै बंगलादेश पुगिसकेका छन् ।

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ ले सम्मान गरिनेछ । त्सपछि उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि जानेछिन्।

आजै उनले समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री शेख हसिनालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।


यस्तो छ नेपाल र बंगलादेशबीचको सम्वन्ध

नेपाल र बंगलादेशबीच प्राचीनकालदेखि नै सामाजिक–सांस्कृतिक सम्बन्ध थियो । आधुनिक कालमा व्यापार पारवहन, लगानी, पर्यटनको सम्बन्ध छ । पछिल्लो सम्बन्धका रूपमा बंगलादेश नेपालको विद्युत्को भरपर्दो बजार हुँदै छ । जलविद्युत् क्षेत्रमा लगानी गर्नसमेत बंगलादेश तत्पर भएको छ । राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणबाट दुई देशबीचको बहुआयामिक सम्बन्ध अरू उचाइमा उठ्ने विश्वास छ ।

ब्रिटिस साम्राज्यवादी शासनबाट स्वतन्त्रतापश्चात् सन् १९४७ मा इस्लाम धर्मका आधारमा भारतसित र पाकिस्तानसँग भाषाका आधारमा पूर्वी पाकिस्तानका रूपमा छुट्टिएको बंगलादेशले सेख मुजिबुर रहमानको नेतृत्वमा मुक्ति बाहिनीहरूले लडेर सन् १९७१ देखि बंगाली मातृभाषा पहिचानसहित स्वतन्त्रता प्राप्त गरेको थियो । पुरानो सभ्यता बोकेको नयाँ राष्ट्रको रूपमा अभ्युदय भएको बंगलादेशलाई नेपाल सरकारले १६ जनवरी १९७२ मा एक राजनीतिक वास्तविकताको रूपमा मान्यता दिएको थियो । नेपालले ढाकामा १९७२ मा राजदूतावास स्थापना गर्‍यो, बंगलादेशले पनि काठमाडौंमा आफ्नो दूतावास स्थापना गर्‍यो ।

सम्बन्धको विकास स् सन् १९७६ मा नेपाल र बंगलादेशबीच व्यापार र भुक्तानी सम्झौता, पारवहन सम्झौता, हवाई सम्झौता र प्राविधिक सहयोग सम्झौताहरू भए । अल्पावधिमा नै दुई देशबीच आर्थिक र व्यापारिक क्षेत्रमा सम्बन्ध दु्रततर गतिमा विकास हुन थाल्यो । १९७८ मा नेपाल–बंगलादेशबीच संयुक्त आर्थिक आयोगको स्थापना भयो ।

बंगलादेशले भूपरिवेष्ठित नेपाललाई द्विदेशीय व्यापारका लागि मात्र होइन, समुद्रपारका मुलुकहरूसँग व्यापार गर्न पनि पारवहन सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । दुई देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री, सांसद, व्यापारी तथा उद्योगपतिहरूको एक–अर्को देशको भ्रमणका क्रमबाट नेपाल र बंगलादेशबीचको बहुआयामिक सम्बन्ध सुदृढ हुँदै आएको छ ।

नेपाल र बंगलादेशबीचको सम्बन्ध असल छिमेकी सम्बन्धको सिद्धान्त र पारस्परिक लाभमा आधारित छ । नेपाल बंगलादेशको रेलवे, सडक सञ्जाल र बन्दरगाहसँग जोडिन चाहन्छ, बंगलादेश नेपालको जलविद्युत् खरिद गर्न चाहन्छ ।

लुम्बिनीमा बंगलादेशको विहार स् बंगलादेशमा इस्लाम धर्मको बाहुल्य भए तापनि चटगाउँको पहाडी भागमा बौद्धमार्गीहरू छन् । प्राचीनकालमा पूर्वी बंगला बौद्ध धर्म एवं सभ्यताको केन्द्र थियो । अतिशा दीपंकर त्यहाँबाट नेपाल आएर एक वर्ष ठमेलमा बसेका थिए ।

उनले पाँच महिनामा पाँचवटा चैत्य बनाए र तिब्बततर्फ लागे । शेष जीवन तिब्बतमा बौद्ध धर्मको प्रचारमा समर्पित गरेका अतिशा दीपंकर बंगलादेशका धर्मदूत हुन् । गत वर्षको २७ जुलाईमा प्रधानमन्त्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले लुम्बिनीमा बंगलादेशको वास्तुशैलीको विहार स्थापना गर्ने निर्णय गरी लुम्बिनी विकास कोषसित सम्झौतासमेत गरिसकेको छ ।

राष्ट्रपति भण्डारीको भ्रमणकालमा हुने सम्झौता –नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको यसपटकको राजकीय भ्रमणमा उच्चस्तरीय भेटवार्तापछि विभिन्न तीनवटा सम्झौतामा हस्ताक्षर हुँदै छ । यो अवसरमा सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपक्षीमा प्रयोग हुने विषादी सम्बन्धमा सहयोग आदान–प्रदानको सम्झौता हुनेछ । रोहनपुर–सिंहवाद रेलवे मार्गमा नेपालको पहुँच पुर्‍याउने विषयमा पनि दुई देशबीच समझदारीपत्र आदान–प्रदान हुनेछ । यसबाट पारवहन क्षेत्रमा थप सुविधा नेपाललाई उपलब्ध हुनेछ ।

पारस्परिक लाभ – नेपाल र बंगलादेशबीचको सम्बन्ध असल छिमेकी सम्बन्धको सिद्धान्त र पारस्परिक लाभमा आधारित छ । नेपाल बंगलादेशको रेलवे, सडक सञ्जाल र बन्दरगाहसँग जोडिन चाहन्छ । बंगलादेश नेपालको जलविद्युत् खरिद गर्न चाहन्छ । यस क्षेत्रमा लगानी गर्न पनि चाहन्छ । नेपाल–बंगलादेशबीच प्रत्यक्ष सीधा प्रसारण लाइन नबनेसम्म मौजुदा नेपाल–भारत प्रसारण लाइनहरू नै बंगलादेशसँगको विद्युत् व्यापारमा प्रयोग गर्न दिन भारत सहमत भइसकेको अवस्था छ ।

नेपाल र बंगलादेश सार्क, बिमस्टेक, जिबिएम वेसिन (गंगा–ब्रम्हपुत्र) विकास, बिबिएन ९उपक्षेत्रीय सहयोग संगठन०मार्फत क्षेत्रीय सहयोगमा आबद्ध छन् । संयुक्त राष्ट्रसंघ र असंलग्न अभियानमा बंगलादेशलाई प्रवेश गराउन नेपाल प्रस्तावकमध्ये एक थियो । नेपाल–बंगलादेशबीच द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तीनै तहमा परस्पर सहयोग कायम छ । गत वर्ष बंगलादेशका राष्ट्रपति हमिदले नेपालको भ्रमण गर्नुभएको थियो । यसर्थ, नेपालको राष्ट्रपतिको यो फिर्ती भ्रमण हो । यी भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ, विकसित र फलदायी हुने आशा छ ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनलाई सहायता नगरेको नेपालको पंचायती सरकारले बंगलादेशको स्वतन्त्रतालाई भने तत्कालै मान्यता प्रदान गर्यो। ०८–अप्रिल–१९७२ मा कुटनैतिक सम्बन्ध स्थापना भएपछि सोही १३–१६ जुनमा त्यहाँका परराष्ट्रमन्त्री मोहम्मद अब्दुस समाद अहमदले नेपालको भ्रमण गरेका थिए।

अर्को बर्ष १९७३ को जुन पहिलो साता त्यहाँका प्र.म. शेख मुजिबुर रहमानको बिशेष प्रतिनिधिका रुपमा फकरुद्धिन अहमदले नेपाल भ्रमण गरि प्र.म. किर्तिनिधी बिष्ट संग भेट गरे। त्यसको दुई बर्ष पछि १९७५ अक्टोबर २८ मा दुबै मुलुकले राजदूत स्तरमा एक अर्काको मुलुकका आवासीय दूतावासहरु स्थापना गरे।

पहिलोपल्ट मन्त्रीस्तरीय भ्रमणका क्रममा नेपालका परराष्ट्रमन्त्री प्रा. कृष्णराज अर्याल सन् १९७७ को २८ नोभेम्बरमा बंगलादेशको ढाका ओर्लिएका थिए। सोही १९–२१ डिसेम्बरमा बंगलादेशका तत्कालीन राष्ट्रपति जनरल जियाउर रहमान पत्नी खालिदा जियाका साथ पहिलोपटक राजकीय भ्रमणमा नेपाल आएका थिए।


सन् १९८० को जुन पहिलो साता नेपालका तत्कालीन राजा बिरेन्द्रले बंगलादेशको राजकीय भ्रमण गरेका थिए। त्यस्तै सन् १९८६ को ०१-०३ जुलाई सम्म त्यहाँका तत्कालीन राष्ट्रपति हुसैन मुहम्मद एरशाद नेपाल आएका थिए। उनी तेस्रो सार्क शिखर सम्मेलनमा भाग लिन सन् १९८७ डिसेम्बरमा पुनः नेपाल आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति