अध्यक्ष ओलीको चेतावनी :बैठकमा नआए विधानको व्यवस्थाअनुसार हुँदै जानेछ

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागीहरु नेताहरुलाई आग्रह गरेका छन् । निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने भन्दै उनले कारबाहीको संकेत गरे ।

अखिल नेपाल महिला संघले १११औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबार गरेको कार्यक्रममा ओलीले भने, ‘पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे । केही दिन अर्याल होटलमा बास बस्नु भएको भन्ने सुनियो । बैठकमा आइपुग्नु भएको छैन । प्रशस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु ।’

उनले अघि भने, ‘सुनिन भन्न पाइने छैन । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहँदै जानुभो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’

उनले माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने लगायतका आफ्नो निर्णयको बचाउ गरे ।

माधव नेपाल–झलनाथ खनाल पक्षका कसैलाई नहटाएको, तर पार्टीको काम गर्नलाई केहीलाई जिम्मेवारी दिइएको उनले बताए । ‘उहाँहरुले जस्तो अध्यक्षबाट निकालें भन्या छैन, पार्टी सदस्यबाट निकालें भन्या छैन,’ उनले अघि भने, अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरुलाई केही कामको जिम्मा दिएका छौं ।’

यसको विरोध गर्नुको अर्थ नभएको उनले बताए । ‘जिम्मा दिँदाखेरि फेरि दलिनमा टाउको ठोकिने गरी उफ्रिराख्नु भएको छ,’ उनले अघि भने, ‘किन उफ्रिराख्नु बैठकमा आए भइगो । ७ गते बैठक बोलाइएको छ । आउनुस्, छलफल गरौंला ।’

उनले अघि भने, ‘बाटो बिराएका नेताहरुलाई पनि भन्न चाहन्छु, सच्चिनुस् र आउनुस् ।’

केपी ओलीलाई ठेगान लगाउन लगाउँछौं भन्ने वक्तव्यबाजी भएको आफूले सुनेको भन्दै उनले भने, ‘केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने बाटैमा ठेस लाग्छ ।’

तीन वर्षअघि भएको एकता कायमै राख्ने भन्दै अध्यक्ष ओलीले नेकपा एमाले नै नेकपा भएको बताए । ‘हामीले एकता गरेको थियौं, एकतामा कायम रहौैं,’ उनले अघि भने, ‘म स्वागत गर्छु साथीहरुलाई । आउनुुस्, सँगै मिलेर अघि बढौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति