एक महिने स्वस्थानी ब्रत आज समापन

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिदै छ ।

ब्रत बस्ने प्रत्येकले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेमा पुन्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहानुसार निराहार बसेर स्वस्थानीको ब्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति व्रतकथा

प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रचलित हुदै आएको मानिन्छ । ब्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा पनि नभए मीत छोरा र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बा्रकी ब्रतालु स्वयंले खाने प्रचलन छ । शनिबार मध्याह्नकाल पछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रात्रिमा जागराम बसी आइतबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले बताए ।

उपत्यकाको पूर्वीभेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण ब्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिदै छ । विगत वर्षमा करिब ४०० जनाले माधवनारायण ब्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक ब्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण ब्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । यस अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइचो लाग्ने गरेको छ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति