ढुङ्गा प्रहारबाट दुई प्रहरी घाइते

वीरगञ्ज । पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान आयुषराय यादव र नरेश यादव घाइते रहेका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

आयुषको देब्रे कानमा चोट लागेको अस्पताल आकस्मिक विभागका प्रमुख डा.उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार अर्का घाइते नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको छ । दुवै खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

भारतीयले ओरिया खोलामा आज बालुवा उत्खनन गरेर लैजाँदै गरेका अवस्थामा भारतीय ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरु घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले स्थिति सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले बताए ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टि र पिडारीगुठीको संयुक्त टोलीले बालुवा लोड गरिरहेका तीनवटा भारतीय ट्र्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको बताइएको छ । ट्र्याक्टर खोलामा फसेपछि भारतीय गाउँ गदियानी भङ्गहाका बासिन्दाले लाठी, भाटा, बेल्चा तथा ढुङ्गाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । साथै नियन्त्रणमा लिएका ट्र्याक्टर पनि भारतीयले खोसेर लगेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पिडारीगुठीका सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति