काठमाडाैँ । नेकपाका नेताहरुले संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेस, जनता समाजबादी पार्टीलगायत दललाई आग्रह गरेका छन् । नेकपाको दाहाल नेपाल पक्षले बुधबार काठमाडौँमा गरेको विरोध सभालाई सँबोधन गर्दै नेताहरुले देशमा विधी मिचिएको र संविधानमाथि नै आक्रमण भइरहेको निष्कर्ष निकालिसकेका दलहरुबिच संयुक्त आन्दोलनका लागि अलमल हुन नहुने बताएका हुन्।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता, संविधान जारी गर्दाको सरकारको नेतृत्वकर्ता तथा लोकतान्त्रिक पार्टी हुनुका नाताले संसदीय र लोकतान्त्रिक मूल्य मान्यतामाथि हस्तक्षेप हुँदा कांग्रेस चुप बस्न नहुने प्रचण्डको भनाइ छ । यसका लागि नेकपा सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको उनले बताए ।
‘शान्ति प्रक्रिया संविधान निर्माण लगायत सबै कामको जस लिने तर यसैमा घात हुँदा चुप बस्न सुहाउँदैन’ प्रचण्डको भनाइ छ । लोकतान्त्रिक पार्टी हुनुका नाताले देशमा अब चाहिँ लोकतन्त्र खतरामा छैन भन्ने अवस्था सिर्जना सिर्जना गर्नका लागि पनि आन्दोलनमा आउनुपर्ने र यो कांग्रेसका लागि यो अवसर भएको प्रचण्डले बताए । ‘शेरबहादुर जी, तपाइँहरुका लागि यो अवसर हो हामी तपाईँहरुसँग हातेमालो गर्न तयार छौँ ।’ प्रचण्डले भने ।
नेपालमा लोकतन्त्रको हत्या भइरहेका बेला छिमेकीसहित सबै अन्तराष्ट्रिय शक्तिहरुले त्यसविरुद्ध आवाज उठाउने प्रचण्डले विश्वास ब्यक्त गरे ।
यसअघि, नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पनि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगामी र निरँकुश बाटोतर्फ अघि बढिरहेकाले उनलाई परास्त गर्न सबै दल र शक्ति मिलेर अघि बढ्नुपर्ने बताए । प्रवक्ता नारायणकाजी, नेता जनार्दन शर्मालगायतले पनि कांग्रेस, जसपा लगायतका दल र नागरिक समाजसमेत हातेमालो गरेर अहिलेको कदमका विरुद्धमा उभिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीकाे कदमकाे विराेधमा तीन दलले बेग्लाबेग्लै बिराेध प्रदर्शन गर्दै आइरहेका छन् ।
सभालाई सँबोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालत तथा निर्वाचन आयोगतर्फ सँकेत गर्दै धेरैतिर नहेरी जनताको अनुहार हेरेर फैसला गर्न आग्रह गरे ।
अर्को प्रसँगमा प्रचण्डले सभा कस्तो हुन्छ भन्ने हेर्न आजको सभामा आउन प्रधानमन्त्री ओलीलाई आग्रह पनि गरे । उनले चेतावनीकाे भाषामा भने, ‘फेरि १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार आउन नपरोस ।’
ओलीको कदम गलत भएकाले आफुहरु लगातार विरोधमा उत्रिएको र चुनाब घोषणा नौटङ्की मात्र भएको प्रचण्डको टिप्पणी छ । ‘केपीको चुनावी नौटङ्की हुनेवाला छैन त्यसको भ्रममा कोही नपरौँ’ प्रचण्डले भने ।
प्रतिक्रिया