प्रतिनिधिसभा विघटनविरूद्धको रिट निवेदकको तर्फबाट बहस सकियो, सरकारी पक्षबाट भोलिदेखि बहस हुने

काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा आइतबारसम्म रिट निवेदकतर्फको बहस सकिएको छ । आइतबार रिट निवेदकहरुले बहस गरेर सकेपछि अब विपक्षीको बहस सोमबारदेखि सुरु हुने भएको छ ।

संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी गराएका छन् । संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस गर्नेछ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षाका लागि बहस गर्न निजी कानुन व्यवसायीले पनि नाम लेखाएका छन् । सभामुखको तर्फबाट पनि निजी कानुन व्यवसायीले बहस गर्नेछन् ।

गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । उक्त संसद विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि रिट निवेदकहरुले बहस सुरु गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति