काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले पुनः निर्वाचन आयोगमा पत्र पठाउने भएको छ । यो समूहले पार्टीको नाम (नेकपा) र चुनाव चिह्न (सूर्य) दाबी गर्दै पुनः पत्र पठाउने भएको हो ।
यसअघि गत १२ माघमा आयोगले दुवै समूह (दाहाल–नेपाल र केपी शर्मा ओली) लाई आधिकारिकता नदिने निर्णय गरेको थियो । तर, आयोगको उक्त निर्णयसँग असन्तुष्ट भइ दाहाल–नेपाल समूहले पुनः थप दाबीसहित पत्र पठाउने भएको हो ।
दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताएअनुसार अहिले आयोग जाने विषयमा छलफल भइरहेको छ । ‘जाने कि नजाने भन्ने विषयमा अहिले छलफल तथा परामर्श भइरहेको छ’, नेता पोखरेलले भने, ‘कानूनी तथा राजनीतिक परामर्श भइरहेको छ । सम्भवतः एक दुई दिनभित्र हामी जान्छौँ ।’
आयोगले ४ सय ४१ जनाभन्दा अरुलाई नचिन्ने बताएका नेता पोखरेलले ४ सय ४१ मध्येबाट आफूसँग बहुमत भएको पनि बताए । नेता पोखरेलले भनेका छन्, ‘४ सय ४१ मध्येबाट हामीसँग बहुमत छ । त्यसैले बहुमतको निर्णय मान्नुपर्छ । यो हाम्रो विधानमै छ ।’
यस विषयमा गत मंगलबार र बुधबार अध्यक्षद्वय दाहाल–नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले कानूनविद् तथा अधिवक्ताहरुसँग छलफल गरेका थिए ।
प्रतिक्रिया