तीन महिनाभित्र सबै नेपालीलाई नि:शुल्क खोप : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले सबै नेपालीले तीन महिनाभित्र निःशुल्क खोप पाउने बताएका हुन् ।

खोपबाट कोही पनि बञ्चित हुन नहुने उनको भनाई छ । ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ,’ उनले भने, ‘कुनै भेदभावविना नै सबै नेपालीलाई निःशुल्क रूपमा खोप लगाइन्छ ।’ प्रधानमन्त्री ओलीले भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा धन्यवाद समेत दिएका छन् ।

उनले कोभिड-१९ विरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने कुरा दोहोऱ्याएका छन् । ‘खोप नाफा कमाउने र व्यापारको विषय हुनु हुँदैन,’ उनले भने, ‘ यो खोप सबैको पहुँचमा हुनुपर्छ । गरिब धनी सबै देशको पहुँचमा हुनुपर्छ ।’

कोरोना भाइरस विश्व अर्थतन्त्र र सिंगो मानव जातिविरुद्ध भएकाले खोपको उपलब्धता पनि सबैको पहुँचमा हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । साथै उनले खोप अभियान र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवीलगायतलाई पनि धन्यवाद दिए ।

उनले खोप लगाउने अभियान सुरु गरिए पनि सतर्कता अपनाउन नछाड्न आम नागरिकलाई आग्रह गरेका छन् । मास्क लगाउने, दूरी कायम गर्ने, सरसफाइमाजस्ता कुरामा ध्यान दिन प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।

‘खोप प्रारम्भ भए पनि यो (कोरोना महामारी) निमिट्यान्न नहुँदासमम मास्क अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने तथा उचित खानपान र सरसफाइमा ध्यान दिने गर्नुपर्छ,’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति