नेपालमा आजबाट सुरू हुँदै कोरोनाविरूद्धको खोप अभियान, प्रधानमन्त्रीले शुभारम्भ गर्ने

काठमाडौँ, १४ माघ । नेपालमा आजदेखि कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली खोप कार्यक्रम शुभारम्भ गरे पनि खोप भने लगाउने छैनन् ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका निर्देशक डा। झलक शर्मा गौतमका अनुसार पहिलो खोप भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा।सागर राजभण्डारीले लगाउने छन् ।

त्यसलगत्तै वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, शहीद गंगालाल अस्पतालका चिकित्सकरस्वास्थ्यकर्मीले एकैपटक खोप लगाउनेछन् ।

गौतमका अनुसार काठमाडौंमा १२, भक्तपुरमा दुई र ललितपुरमा तीन अस्पताल गरी उपत्यकाका १७ केन्द्रबाट खोप उपलब्ध हुनेछ । काठमाडौं उपत्यकाबाहिर ६२ अस्पतालअन्तर्गत १०३ खोप केन्द्रबाट खोप लगाइनेछ ।

पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइने कार्यक्रम छ ।

गौतमका अनुसार देशभरका ३ सय खोप केन्द्रमध्ये सात प्रदेशका १२० केन्द्रमा खोप पुगिसकेको छ । २८० केन्द्र तयार हुन बाँकी रहेकाले ती केन्द्रबाट खोप सुरू हुन भने कम्तीमा आइतबारसम्म लाग्ने गौतमले बताए ।

नेपाललाई भारतले गत बिहीवार १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएको थियो ।

भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी ठानिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति