‘कृषिमा कमजोरी तथ्याङ्कमा छ’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्याङ्क रहेको बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको समन्वय तथा नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौँद्वारा आयोजित तीन दिने ‘किसान सूचीकरण प्रणालीसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ को मङ्गलबार समापन कार्यक्रममा सचिव डा मिश्रले कुनै पनि क्षेत्रको विकास तथा योजनाको महत्वपूर्ण आधार भनेकै तथ्याङ्क भएको बताए ।

“कृषिमा कही कमजोरी छ भने तथ्याङ्कमा छ । सही तथ्याङ्कका आधारमा काम गर्ने प्रक्रियामा हामी चिप्लिराखेका छौँ । हाम्रो किसानको वास्तविक तथ्याङ्क नभई हामीले कृषिमा सही काम गर्न सक्दैनौँ । एक पटक मात्र तथ्याङ्क प्रवेश गर्न सक्यौँ भने हामीले दीर्घकालीन विकासको खाका कोर्न सक्छौँ”, उनले भने, “कर्णाली प्रदेशमा हाल दुई लाख ९८ हजार घरधुरी छन् । हामीले दुई लाख ५० हजार जति तथ्याङ्क सङ्कलन गरे तथ्यको नजिक जान सकिएला । देशका सबै ठाउँमा तालिम सम्पन्न भएपछि फागुनमा किसान सूचीकरणको दर्ता कार्य शुरु हुन्छ ।” तथ्याङ्क सङ्कलनपश्चात् मात्र दोस्रो चरणमा किसानहरुको वर्गीकरण गर्न सकिने उनको भनाइ थियो ।

नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सञ्जेलले किसान सूचीकरण व्यवस्थापन प्रणाली (सफ्टवेयर दर्ता) सरकारको महाअभियान भएको बताउनुभयो । उहाँले प्रदेशस्तरीय अभिमुखीकरणमा सहभागीहरुलाई तीन दिनसम्म प्रशिक्षणबाट प्राप्त सबै ज्ञान तथा सीप जिल्ला एवं स्थानीय तहका प्रशिक्षक तथा सहजकर्तालाई राम्रोसँग हस्तान्तरण गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागी कर्णालीका १० वटै जिल्लाका कृषि तथा पशुसेवा कार्यालयमा कार्यरत प्रमुखहरुले कृषि मानव जनजीविकाको मूल आधार भएको बताउँदै यो क्षेत्र र किसान कसरी अघि बढ्न सक्छन् भन्नेतर्फ तथ्य एवं नीतिगत ढङ्गबाट राज्य अगाडि बढ्नुपर्ने सुझाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति