प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट पारे । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उनले भने , “मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौँ । सक्दैनौँ । दिइने छैन ।”

प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उनले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताए ।

उनले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गर्नुभयो ।अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाए ।

कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य चिन्ह पाउने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति