संसद पुनर्स्थापनापछि ओली हटछन्, राष्ट्रपति रहन्छन् : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माघव समूहका नेता वर्षमान पुनले संसद् पुर्नस्थापनापछि प्रधानमन्त्री मात्र हटाइने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने सिफासिस गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले समेत साथ दिएको भन्दै राष्ट्रपतिको ब्यापक आलोचना भइरहेको अवस्थामा नेता पुनको यस्तो धारणा सार्वजनिक भएको हो ।

राष्ट्रपतिको अभिभावकीय भूमिकामा प्रश्न गर्ने अनेक ठाउँ रहेतापनि राष्ट्रपति नै हटाउनुपर्छ भन्ने पक्षमा नरहेको उनको धारणा रहेको छ । एक अन्तरवार्तामा नेता पुनले भनेका छन्ः ‘राष्ट्रपतिको विषयमा रिजर्भेसनहरु छ। उहाँले जसरी देशको अभिभावकीय भूमिका खेल्नु पर्ने हो, त्यो भएन। प्रधानमन्त्रीले पठाएको सिफारिसमा हतारहतार छाप लगाउने काम गर्नुभयो । दलसम्बन्धी अध्यादेशमा सचिवालयको बैठक बसिरहेको थियो पार्टीले रोक्न अनुरोध गर्दा पनि रोकिनु भएन । अहिले यति गम्भीर विषयमा पनि कुनै पराशर्म पनि गर्नु भएन । तर, सामान्य रुपमा मन्त्रिपरिषदले गरेको सिफारिस उहाँले रोक्न मिल्दैन । सरकारले गरेको कुरालाई अनुमोदन गरेको भरमा राष्ट्रपतिलाई केही गर्न मिल्दैन । उहाँले अलिकति परामर्श गर्ने, अलिकति अभिभावकीय रुपमा काम गर्नुपर्थ्यो होला।’

संसद पुर्नस्थापना भए वर्तमान राष्ट्रपतिलाई नहटाइने बताउने नेता पुन प्रधानमन्त्रीलाई यथावत राख्ने ठाउँ नै नभएको बताउँछन् । अन्तरवार्तामा नेता पुनले भनेका छन्ः ‘संसद् पुनर्स्थापान भएपछि रहने ठाउँ नै हुँदैन। नैतिक रुपले हट्नु पर्छ नभए संसदले हटाउँछ। नैतिक रुपमा हट्नु भएन भने दलले हटाउँछ। उहाँले आफैँले मारिसकेको सांसद फर्केर आएपछि कसरी रहनु हुन्छ ? रहनै मिल्दैन।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति