काठमाडौं, २४ पुष । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहलाई पार्टी छाडेर भागेका भगौडाहरुको संज्ञा दिएका छन् ।
शुक्रबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले नेताहरु पार्टीको बैठक छाडेर सडकमा भागेको भगौडाहरु भएको बताए । उनले भने, ‘बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा हामी यहाँ छौं भनेर पो बसेका रहेका छन् ।’ उनले भने, तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तर, तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’
ओलीले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’ उनले भने, ‘मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् । म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ,’ उनले अघि भने, ‘६४ प्रतिशतको नेता म हो, अर्को विकल्प छैन संसदमा । विकल्प नभएपछि प्रतिनिधिसभा पुनर्स्थापना संवैधानिक, व्यवहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न ।’ कतिपयले केपी ओलीले चुनाव गर्दैन भनेको भन्दै उनले भने, ‘चुनाव वैशाख १७ गते नै हुन्छ, वैशाख २७ गते नै हुन्छ । प्रतिनिधिसभाको चुनाव हुन्छ ।’
यस्तै, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारीसमेत दिएका छन् । सम्बोधन क्रममा सुदूरपश्चिमको विकासबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले सीमा नाकाको अवस्था सुधार हुनेसमेत बताए ।
कार्यक्रमा उनले भने, ‘हाम्रो परराष्ट्र मन्त्री भारत जाँदै हुनुहुन्छ। त्यतिबेला यसको बारे कुरा हुनेछ’ । केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा जानकारी भने दिईएको छैन ।
प्रतिक्रिया