संसद विघटन प्रकरणः संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

काठमाडौं, २२ पुष । संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले नबस्ने बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा हेर्ने संवैधानिक बेञ्चमा नबस्ने न्यायाधीश कार्कीले घोषणा गरेका हुन् ।

बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि कार्की बेञ्चमा नबस्ने भएका हुन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए ।

विपक्षीहरुको लिखित जवाफ आएपछि बुधबार सुरु भएको सुनुवाईका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाएका हुन् । कार्की, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको तर्क थियो ।

वकिलहरुले आजको सुनुवाइमा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको मुद्दा हेर्न नमिल्ने बताए । बरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले न्यायाधीश कार्कीको इमानमा प्रश्न नगरेको भए पनि उनी यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भइसकेकाले यो इजलासमा उनी हुँदा प्रश्न उठेको बताए ।

वकिलहरूले इजलासमा बस्ने÷नबस्ने निर्णय न्यायाधीश कार्कीले नै गर्नुपर्ने बताएका थिए। न्यायाधीश कार्कीले आजै अबदेखि आफू यो मुद्दाको इजलासमा नबस्ने निर्णय गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति