गत बिहीबारबाट फुङ्लिङ नगरपालिका वडा नं ११ को फावाखोला स्थित सिम्बु सामुदायिक वन क्षेत्रबाट शुरु भएको डढेलो नियन्त्रण बाहिर गइ ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिर नजिकै पुगेको छ । फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराईले डढेलो मन्दिरको पूर्वी क्षेत्रमा पुग्न लागेकोे र डढेलो नियन्त्रण मानवीय प्रयास बाहिर रहेको समेत जानकारी गराएका छन् ।
नियन्त्रण नजिक पुगेको डढेलो फेरी दन्किदा मन्दिर जोखिममा परेको हो । आइतवार साँझ नियन्त्रण नजिक पुगेको डढेलो राति र सोमबार बिहानको हावाको बेगले अझ मन्दिरतर्फ बढिरहेको छ । अहिले मन्दिर नजिक रहेको सबैभन्दा पुरानो रुख जल्दै गरेको र मन्दिर जोगाउन मन्दिरमा टाँगिएका ध्वजापताका, डोरी लगायतका आगोले चाँडो टिप्ने सामग्री फाल्ने तयारी भइरहेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका उपाध्यक्ष नारायण थापाले जानकारी दिएका छन् ।
उनका अनुसार डढेलो मन्दिर भन्दा केहि तल रहेको फोहोर व्यवस्थापन गर्ने केन्द्रबाट मन्दिरतर्फ अघि बढेको थियो । अहिले पाथीभरा मन्दिरमा रहेका पुजारी र कर्मचारीमार्फत मन्दिर क्षेत्र जोगाउने प्रयत्न भइरहेको थापाले जानकारी दिए । मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलोको धुँवाको मुस्लो सदरमुकाम फुङ्लिङबाटै प्रत्यक्ष देख्न सकिन्छ । पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले मन्दिरको मुल थान र मन्दिर क्षेत्रमा बनेका घर तथा पाटी पौवा बचाउने गरी पहिलो प्रयत्न भइरहेको जानकारी दिए ।
प्रतिक्रिया