नयाँ भेरिएन्टको कोरोना भाइरस विश्वभर फैलिन थाल्यो, नेपालमा पनि भित्रिइसकेको आशंका

एजेन्सी । पहिलो पटक ब्रिटेनमा फेला परेको नयाँ प्रकारको कोरोनाभाइरस (नयाँ भेरिएन्ट) विश्वभर फैलिन थालेको छ । यसको फैलावट पछिल्लो पटक एसिया, उत्तर अमेरिका, अष्ट्रेलिया र अफ्रिकामा पनि पुगिसकेको छ।

बढी संक्रामक मानिएको नयाँ भेरिएन्ट अहिलेसम्म युरोपियन देशहरुसँगै क्यानडा, जापान र दक्षिण अफ्रिकामा भेटिएपछि धेरै देश पुगिसकेको अनुमान गरिएको छ। बेलायतबाट क्रिसमस मनाउन घर फर्किएकाहरुबाट युरोपका धेरै देशमा कोरोनाको नयाँ स्वरुप भित्रिएको हो ।

पछिल्लोपटक युरोपका स्पेन, स्विट्जरल्याण्ड, स्वीडेन, फ्रान्स लगायतका मुलुकमा यो भाइरस फेला परेको छ। त्यसअघि डेनमार्क, जर्मनी, इटाली र अष्ट्रेलियामा समेत कोरोनाको नयाँ ‘भेरिएन्ट’ फेला परेको थियो।

क्यानडामा एक जोडी दम्पतीलाई संक्रमण भएको छ। उनीहरुको यात्रा विवरण नखुलेका कारण फैलने संभावना बढेको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उता जापानमा पनि बेलायतबाट फर्किएका पाँच जनामा यो भाइरसको संक्रमण पत्ता लागेको थियो। त्यसबाहेक अरु दुई जना यस्ता संक्रमित पत्ता लागिसकेका छन्। तीमध्ये एक जना जापानमा स्थायी बसोबास गरिरहेका बासिन्दा हुन्।

उनी २० वर्षभन्दा माथिको उमेरकी महिला भएको र उनले विदेशबाट आउने कसैलाई पनि नभेटेको जनाइएको छ। अर्का पुरुष भने ३० वर्षभन्दा माथि उमेरका पाइलट हुन्। उनी १६ डिसेम्बरमा लण्डनबाट फर्किएका थिए। जापानले सोमबारबाट लागू हुने गरी गैरआवासीय विदेशीहरुलाई एक महीनाका लागि प्रवेशमा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसको नयाँ स्वरुप पत्ता लागेपछि विश्वव्यापी रुपमा यात्रा प्रतिबन्धहरु लगाउन थालिएको छ। शुरुमा ब्रिटेनका लागि लगाइएको यात्रा प्रतिबन्ध अन्य देशका लागि पनि लागू गर्न थालिएको छ।

स्पेनको राजधानी मड्रिडमा चार जना यस्ता संक्रमित फेला परेका छन्। सबै बेलायतबाट फर्किएकाहरु हुन्। तर, उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । स्विट्जरल्याण्डमा भेटिएका तीनमध्ये दुई जना बेलायती नागरिक हुन्। स्विट्जरल्याण्ड मात्र युरोपको यस्तो देश हो जसले क्रिसमस र नयाँ वर्ष मनाउन पर्यटकहरुलाई स्वागत गरिरहेको छ। करीब १५ दिनअघि देखि बिदा मनाउन बेलायतबाट हजारौँ पर्यटक त्यहाँ पुगेका छन्। विज्ञहरुले कोरोनाभाइरसको नयाँ ‘स्ट्रेन्स’ पुरानोभन्दा बढी संक्रामक भए पनि बढी घातक नभएको बताएका छन्। तर, यसमा थप अनुसन्धान आवश्यक रहेको विज्ञहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

नेपालमा नयाँ भाइरस प्रवेश भए/नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको बताए । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले बुधबार बसेको नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको छ/छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो।

नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो। त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको डा. गौतमले बताए ।  मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्रयोगशालामा स्वाब परीक्षण गर्न आग्रह गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति