नेकपा: दुबै समूहको आज पनि केन्द्रीय कमिटी बैठक, सचिवालय सदस्य हेरफेरको तयारी

काठमाडौँ, ९ पुस । प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र प्रचण्ड-नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तररूपमा केन्द्रीय कमिटी बैठक बसेको दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा बोलाएको बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा दिउँसो १ बजे राखिएको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले पनि सचिवालय हेरफेर र महासचिवको मनोनयनको तयारी गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेको छ । आफू पार्टीको संस्थापन भएको जनाउन दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णय तीव्र पारेका छन् । ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको जानकारी निर्वाचन आयोगमा बुझाएको छ । प्रचण्ड -नेपाल समूहले पनि ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको तथा आफ्नो पक्षमा साविकको ४४१ केन्द्रीय सदस्यको बहुमत संख्या रहेको ब्यहोराको जानकारी निर्वाचन आयोगमा गराइसकेको छ ।

गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णय सगै विवाद भएको नेकपाको संकट अन्ततः फुटको तहमा पुगेको छ । तर दुवै पक्षका बैठकमा भने पार्टी नफुट्ने जीकिर गर्दै आएका छन् ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएर पार्टी विवाद साम्य पार्न तयार रहेको सन्देश दिएको दुई दिनमै प्रधामन्त्री ओलीले गत आइतबार (पुस ५ मा ) प्रतिनिधिसभा विघटन गराएपछि नेकपा विभाजनको औपचारिक प्रक्रियामा प्रवेश गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति