काठमाडौं, २२ मंसिर । नेपाल-भारत अन्तर सरकारी समिति (आईजिसि)को बैठक सकिएको छ ।भारत र नेपालका वाणिज्य सचिवहरुको अध्यक्षतामा अनाधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवाहन तथा सहकार्यसम्बन्धी मंगलबार भर्चुअलमार्फत सम्पन्न भएको हो ।
अन्तर्सरकारी समिति नेपाल–भारतको सर्वोच्च द्विपक्षीय संयन्त्र हो। जसले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धको समीक्षा गर्ने अगाडि बढाउने मार्ग तय गर्ने गरेको छ । १५ सदस्यीय भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँगसँगै भारत सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव श्री अनुप वाधवाले गरेका थिए । भने विभिन्न मन्त्रालय एवम् विभागका अधिकारी सम्मिलित नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए ।

बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समिक्षा गरिएको भारतीय दुतावासले जनाएको छ । उक्त बैठकमा व्यापार तथा पारवाहन सन्धिको बृहत समिक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त विजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यता कायम लगायतका विषयमा गहन छलफल गरिएको छ । व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भएको दुतावासले विज्ञप्तीमा उल्लेख गरेको छ ।

नेपालको आयात तथा निर्यात दुवैको क्षेत्रमा भारत नेपालको सबैभन्दा ठूलो व्यापार तथा लगानी साझेदारको रुपमा रहेको छ । भारत नेपालको एक मात्र त्यस्तो व्यापार साझेदार मुलुक हो जससँग पछिल्लोे दुई तीन वर्षमा नेपाली निर्यातमा लगातार बृद्धि भएको छ । आजको बैठकमा भएको विस्तृत छलफल र प्रगतिले भारत र नेपालबीचको आर्थिक तथा वाणिज्य सम्बन्धलाई विस्तार गर्न थप सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया