निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छौँः अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौँ, १४ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको छलफलमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताए । उनले कोभिड–१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवद्र्धन गर्दै नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म पृष्ठपोषण लिएर काम गर्ने बताए । उनले निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्न निरन्तर दोहोरो संवादमा रहने बताए । उनले भने, “आजको छलफल छलफलको अन्त्य होइन, सुरुआत मात्र हो ।”

उद्योगी तथा व्यावसायीलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जालगायत कार्यक्रम ल्याएको भन्दै अर्थमन्त्री पौडेलले तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने बताए ।

अर्थमन्त्री पौडेलले स्रोतको सिमितताभित्र रहेर काम गर्ने स्पष्ट पार्दै सरकारले उद्योगी व्यावसायी र उद्योगी व्यावसायीले सरकार भएर सोच्न आवश्यक भएको र सोहीअनुसार काम गर्दा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो । नेपाल उद्योग परिसङ्घका पदाधिकारीले कोभिड–१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।
.

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति