नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौंः भारतीय विदेश सचिव श्रृंगला

काठमाडौं, १२ मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारतबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताएका छन् । उनले नेपाल र भारत सँगै काम गर्न आवश्यक बताउँदै भने जब खोप आउँछ, नेपालको आवश्यकता पूरा गर्ने हाम्रो प्राथमिकता हुनेछ ।’

‘हामीले भारतमा मात्र होइन परपरसम्म हेरेर सपना देखिरहेका छौं। हामी यो सपनालाई वास्तविकतामा बदल्न निरन्तर मेहनत गरिरहेका छौं र नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौं,’ उनले भने, ‘हामी यो एक्लै गर्न सक्दैनौं जसरी तपाईंहरू आफ्नो सपना एक्लै पुरा गर्न सक्नुहुन्न। हाम्रो क्षेत्रमा, दक्षिण एसियामा, हामी एक-अर्कामा निर्भर छौं, एक-अर्कालाई चाहिन्छौं।’ 

एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा श्रृखलाले दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताएका हुन् ।भारतले कोरोना खोपका लागि काम गरिरहेको उनले बताए । कोरोना महामारीमा पनि दुवै देशसँगै रहेको र मिलेर लड्नुपर्नेमा उनले जोड दिएका छन् ।

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज गोरखा र मनाङ जाँदैछन् । उनले गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको अवलोकन गर्ने कार्यक्रम छ । साथै तीन वटा विद्यालयको उद्घाटन पनि गर्ने कार्यक्रम छ ।

मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ । हिजो बिहान नेपाल आएका भारतीय विदेश सचिव श्रृङ्गला दिनभर भेटघाटमा व्यस्त रहे । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गरेका छन् । भारतीय विदेश सचिव श्रृङ्गलासँग शीतल निवासमा भएको भेटमा उनले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लैजान आग्रह गरेका हुन् ।

राष्ट्रपतिलाई भेट्नुअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयको प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेका थिए । उनी आज दिउँसो एक बजे स्वदेश फर्किने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति