ट्रम्पले स्वीकार गरे बाइडेनको जित, सत्ता हस्तान्तरण सुरु गर्ने तयारी

काठमाडौं, ९ मंसिर । चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने बताएका छन् ।

उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई ‘गर्नुपर्ने आवश्यक काम गर्न’ सिफारिस गरेको बताए । तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ ।

जिएसएले पनि बाइडनलाई ‘स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ । नोभेम्बर ३ मा भएको चुनावमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् । तर कुनै पनि प्रमाण बिना ट्रम्पले धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले ट्रम्प प्रशासनको सहयोग नमिले पनि र सरकारी सूचना तथा कोषमा पहुँच नदिए पनि अन्तरिमक कालको काम थालेका थिए ।

बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् । त्यसअघि उनको अन्तरिमक प्रशासनले सरकारी सूचनामा पहुँच तथा सो अवधिको कामका लागि स्थान र कोष ट्रम्प प्रशासनबाट पाउनु पर्छ । अहिलेसम्म त्यस्तो हुन सकेको छैन ।

तर ट्रम्पले अन्तरिम प्रशासनको कामलाई औपचारिकता प्रदान गर्नका लागि गर्नु पर्ने सबै प्रक्रिया पूरा गर्न महत्वपूर्ण संघीय निकायलाई निर्देशन दिएको ट्वीट गरेर उल्लेख गरेका हुन् ।

अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको थियो ।

मिसिगनका दुई डेमोक्र्याट तथा दुई रिपब्लिकनसहितको चार सदस्यीय इलेक्टोरल कलेज मतलाई आधिकारिकता प्रदान गर्ने कमिटिको सोमबारको बैठकले एक लाख ५० हजार भन्दा बढि मतले अघि रहेका बाइडेनको पक्षमा नतिजालाई औपचारिकता प्रदान गरेको छ ।

एक रिपब्लिकन पदाधिकारी अनुपस्थित रहे पछि तीनजनाले मत परिणामलाई औपचारिकता प्रदान गरेको हो । ट्रम्प मिसिगनको नतिजा आफ्नो पक्षमा उल्ट्याने प्रयासमा थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति