गरिब किसान र श्रमजीवीका लागि दीपावली र छठमा अवसर

महोत्तरी, २५ कात्तिक । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब तथा श्रमजीवीका लागि अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्व विशेषसँग जोडिएका विभिन्न काम पाउने हुनाले यो पर्व खास अवसरसमेत बन्ने गरेको हो ।

गरिब किसानका घर करेसाबारीमा लगाइएका फुल, अदुवा, ज्यामिर र केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । दीपावली पर्वमा व्यापारिक प्रतिष्ठानहरूले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन छ । यस प्रयोजनका लागि घरकरेसामा रहेका केराका कोथा नयाँ हुर्केका बिरुवाबेचेर नै गरिब किसानले राम्रो आर्जन गर्ने गरेका छन् ।

“खासमा केराको झ्याङमा एक बोटमा तीन वटाभन्दा बढी कोथा राख्नु हुँदैन, बढी भएका कोथा छासेर फ्याँक्नुपर्छ”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका गरिब किसान बृजनन्दन राय दनुवार भन्छन्, “यो कोथा छास्ने काम हामी दीवाली तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’ र लेख्दा ‘दीपावली’ हुन्छ मुखमा गर्छौँ, सबै फालिनुपर्ने कोथाको मूल्य पाइन्छ ।” केराका थामका लागि केही दिन पहिले नै लिनेदिनेले कुरा पक्कापक्की गर्ने यहाँको चलन छ । लक्ष्मीपूजाको एक दिन पहिले त चोकबजारमा केराका थामको बजार नै लाग्ने गरेको छ ।

केरा फल र कोथा दुवैको माग हुने दीपावली र केराका घरी नै छठपर्वमा कतिपयको भाकल हुने गर्छ । दीपावली र छठ सँगसँगै जसो पर्नाले यी पर्वमा केराको खपत निकै बढ्ने गरेको छ । यसबाहेक ज्यामिर, बोटसहित उखालिएको अदुवा, पातसहितको उखु पनि दुवै पर्वका पूजा सामग्री हुन् । थोरै जग्गा हुने गरिब किसानले आफ्नो घरकरेसामा लगाएका यी वनस्पतिबाट पर्वको अवसरमा राम्रो आर्जन गर्ने गरेका छन् ।

यस्तै अरु बेला दैनिक प्रयोजनमा प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री र माटाका भाँडा कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला र दीयो बाल्ने दियौरी ९पाला० दीपावली र छठपर्वका खास सामग्री हुन् । अरु बेला यस्ता सामानको बिक्री हुन छाडे पनि यी पर्वमा बाँसको चोयाका सामग्री बुन्ने डोम र विन एवं माटाका भाँडा बनाउने कुम्हाल जाति समुदायको निकै व्यस्तता बढ्ने गरेको छ । दुवै पर्वको आर्जनले वर्षभरिको नगद जोहो गर्नुपर्ने हुँदा अहिले आफ्नो सीपको खास अवसर भएको यी जाति समुदायका गरिब बताउँछन् । पर्वमा घर रङरोगन गर्ने सीपका कामदारको पनि माग ह्वात्तै बढ्ने गरेको छ ।

हिन्दू वैदिक परम्पराका यी पर्व कृषिसँग अभिन्न रूपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन् । मुख्य खेती लगाउने समय सकिएको र नयाँ बाली भित्र्याउने समयअघि पर्ने यी पर्व धनी गरिब सबैका लागि खुशीको अवसर हुने गरेको पाका मैथिल बर्दिवास–२ का ६५ वर्षीय वीरेन्द्र झा बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति