माफ गर्नु होला !

माफ गर्नु होला
आजकल ममा लाज हराएको छ।
किनभने भोक लागे पछि
खानको लागि म
खुला ठाउँमा पनि थाल थाप्न तयार छु।

क्षमा गर्नु होला मलाई  !!
समस्याले थिचिदै गए पछि
बाच्नको लागि म
बोरा ओढेर सुत्न पनि तयार छु।

भबिस्य खोज्दै आएको शहरमा
तपाईंहरुको समृद्धि भित्र भौतारिंदै गर्दा
सास फेर्न गाह्रो भए पछि
टेकुमा गएर लाइन लाउन पनि तयार छु।

साच्चै मलाई माफ गर्नु होला  !!
मैले दिएको एक भोटले
सिंहदरबारको गेट खुला गर्दा
तपाईं सजिलै त्यहाँ पस्न पाउनु भयो ।

मेरो श्रमले सिंगारिदा तपाइको घर
ठांटले तपाईं बस्न पाउनु भयो ।
तर म आज पनि खुला चौरमा
तपाईंको समृद्धि पच्छाउदै
थाल थापेर पेट भर्दैछु।

हेर्छु खुलामञ्चमा बसेर
तपाईंको समृद्ध नेपाललाइ
लाग्छ मात्र एकछाकको लागि
भोको पेटको यो कहालीलाग्दो जंघार तर्दैछु।

सांच्चै माफ गर्नु होला !!
तपाईं हरु पदको लडाइँ लड्दा
हामी भोकको लडाइँ लड्दै छौं।
तपाई हरुले समृद्धिका भाषण दिदां
हामी दुखका पहाड तिर अघि बढ्दै छौ।

हेरौ हाम्रा औलाहरुमा
फेरि तपाईंहरुको लागि
निलो मसीले साइन लगाइन्छकी लगाइदैन
हाम्रो नाममा अत्याचार गर्नेहरुलाई
हामीले त्यतिबेला भगाइन्छकी भगाइदैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति