चौरसियाका हत्यारालाई कारबाही होस् भन्दै नेकपाका ३७ नेताले निकाले संयुक्त विज्ञप्ति

काठमाडौं, १३ कात्तिक । नेकपा पर्साका कार्यकर्ता ‘मुकेश चौरसियाको हत्यामा संलग्न’लाई कारबाही गर्न माग गर्दै नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ जना नेताहरुले संयुक्त विज्ञप्ति निकालेको छ । नेकपाका ३७ नेताको संयुक्त विज्ञप्ति जारी गर्दै चौरसियाका हत्यारालाई कारबाहीको माग गरेको हो ।

पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनीमा यही कात्तिक ६ गते नेकपाको गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरुको शपथग्रहण कार्यक्रममा चौरसियामाथि कुटपिट भएको थियो । उनको भोलिपल्ट बिहान मृत्यु भएको थियो ।

नेकपा नेताहरु मातृका यादव, विश्वनाथ साह, नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झालगायतका ३७ जना नेताहरुले संयुक्त विज्ञप्ति निकालेर पीडित निवेदकको जाहेरी दर्ता गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयले पीडितको जाहेरीसमेत दर्ता गर्न नमानेको भन्दै उनीहरुले प्रहरीले नै कानुनी राज्यको खिल्ली उडाएको बताएका छन् ।

उनीहरुले यो घटनालाई सुनियोजित भनेका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘घटनाको प्रकृति हेर्दा सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको प्रमाणित हुन्छ । यस घटनाको जति भत्र्सना गरे पनि कमै हुन्छ । त्यसैले यस घटनाका सम्पूर्ण दोषीहरुलाई कडा से कडा कारबाही गरिनुपर्दछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति