दशैं भत्ता फिर्ता गर्न सांसदलाई देउवाको निर्देशन

काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्। सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन् ।

सभापति देउवाले सोमबार संसदीय दललाई सांसदका भत्ता फिर्ता गर्न निर्देशन दिए । कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले उक्त निर्देशन दिएका हुन्। कांग्रेस सांसदहरूले संसदीय दलमै छलफल गरेर सबै सांसदको भत्ता फिर्ताको निर्णय गर्नुपर्ने माग गरिरहेका छन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार सभापतिले दसैं भत्ता फिर्ता दिन निर्देशन दिइसकेको जानकारी दिए। कोरोना महामारीका बेला दसैं भत्ता लिनु उपर्युक्त नहुने पनि खाँणले बताएका छन्।

‘संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदले आफ्नो खातामा आएको दसैं भत्ता संसद सचिवालयमार्फत् सरकारलाई र कोरोना कोषलाई फिर्ता गरिदिने निर्णय भइसकेको छ,’ उनले भने। प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्। संघीय सांसदहरूले ६४ हजार ७० रूपैयाँ दसैं भत्ता पाएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति