मृतक कर्मचारीको हुने भयो ६ लाख सम्म ऋण मिनाहा

झापा, २८ असोज । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको छ लाख २९ हजार ऋण मिनाहा गरेको छ ।

विगत चार वर्षदेखि सिम्रिकको काँकडभिट्टा सेवा केन्द्रमा कार्यरत बजार प्रतिनिधि राजवंशीको असोज १४ गते उपचारका क्रममा बिएण्डसी हस्पिटलमा मृत्यु भएको थियो । उनको घर मेचीनगर–७ इटाभट्टामा छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतका अनुसार मृतकको एक मात्र छोरी आरुषी राजवंशीको शिक्षाका लागि संस्थाले रु तीन लाखको अक्षयकोष स्थापना गरिदिने र त्यसबाट आउने वार्षिक रु ३३ हजार ब्याजबाट पढाइ खर्च उपलब्ध गराइने जनाएको छ ।

आरुषी १७ वर्षको भएपछि अक्षयकोषको रु तीन लाख फिर्ता दिने र उच्च शिक्षाका लागि उनको नाममा खाता खोली संस्थाले मासिक रु दुई हजार जम्मा गरिदिने अध्यक्ष बस्नेतले बताए । बचतको रकम उनी २३ वर्षको भएपछि एकमुष्ट रु सात लाख २० हजार फिर्ता दिने संस्थाले जनाएको छ ।

सुकमती राजवंशीले बजार प्रतिनिधि भएवापत घर बनाउन सिम्रिकबाट रु १० लाख ४० हजार ऋण लिएका थिए । उनको असामयिक निधनपछि आश्रित परिवारलाई ऋणको बोझ नहोस् भनेर मिनाहा गरिदिएको बस्नेतले बताए ।

कर्जा लिएको रकममध्ये रु ११ हजार तिरिसकेको अवस्थामा रु १० लाख २९ हजार कर्जा भुक्तानी गर्न बाँकी नै थियो । जसमध्ये सुकमतीको निधनपछि कर्मचारीले पाउने रु चार लाख संस्थाले ऋणमा मिलान गरेको छ । मृतकको परिवारलाई काजकीरिया खर्चवापत संस्थाले रु ३० हजार प्रदान गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति