कोरोना संक्रमणको ग्राफमा चीनलाई उछिन्दै नेपाल ४४औँ स्थानमा

काठमाडौं, २० असोज । नेपालमा पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा १५५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ । पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको सरकारी तथ्यांमा उल्लेख छ । यस्तै, हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ ।

निको हुने सङ्क्रमितको सङ्ख्या ६७,५०० नाघेको छ भने विगत २४ घण्टामा २,३४० जना रोगमुक्त भएका छन्। अहिलेसम्म नेपालमा ६७,५४२ जना सङ्क्रमित निको भइसकेका छन्।

उपत्यकामा थप १०१७ जनामा संक्रमण
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १०१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

२४ घण्टामा ९ जनाको मृत्यु
नेपालमा विगत २४ घण्टामा ९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म ५६३ सङ्क्रमितको मृत्यु भएको छ ।

नेपाल ४४औँ स्थानमा
नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ । यससँगै नेपालले सङ्क्रमितको कुल सङ्ख्यामा चीनलाई उछिन्दै अतिप्रभावित देशको सूचीमा ४४औँ स्थानमा पुगेको हो ।

मङ्गलवार अपराह्णसम्म सङ्क्रमितको कुल सङ्ख्या ९०,६५२ सहित चीन एक स्थान तल ओर्लिएको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति