काठमाडौं, २० असोज । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच हिजो भएको भेटवार्तापछि बैठकको मिति तय भएको हो ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । आइतबार स्थगित भएको सचिवालय बैठक आज बस्न लागेको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए । दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत हिजो सामान्य छलफल भएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।
आजको सचिवालय बैठकमा एकता प्रक्रियाका बा“की काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ । नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सचिवालय सदस्यहरु सहित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि आइतबारको सचिवालय बैठक पनि स्थगित भएको थियो ।
प्रतिक्रिया