लुम्बिनी क्षेत्रलाई पर्यटकीय राजधानीको रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

बुटवल २० असोज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै बुटवल प्रदेशको अन्तिम राजधानीको रूपमा रहने कहिल्यै नभनेको बताएका छन् ।

देउवा प्रधानमन्त्री भएका बेला प्रदेशको अस्थायी राजधानी तोकिएको तर त्यसपछिका प्रदेशका जिल्ला भ्रमणमा देउवाले प्रदेशको स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै भएको बताउने गरेको उनले उल्लेख गरे ।

आज प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले त्यसबेला सभापति देउवाले बोलेका रेकर्ड सुरक्षित रहेको पनि बताए । कांग्रेस सांसदले बुटवललाई नै प्रदेशको राजधानी बनाउनु पर्ने अडान राखेका छन् । प्रदेश सरकारले राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव पेश गरेको छ, जुन प्रस्तावमाथि आज मतदान हुँदैछ ।

उनले बुटवल क्षेत्रमा विकासका पूर्वाधारसमेत अगाडि बढेको बताए । चिडियाखानादेखि रंगशाला बुटवलमै निर्माण भएको पोखरेलको भनाइ छ । अब राखिने राजधानी राप्ती उपत्यका रहने भन्दै उनले बुटवललाई आर्थिक राजधानी बनाइने पनि बताए ।

उनले प्रदेश राजधानी नयाँ ठाउँमा तोकियो भन्दैमा बुटवल क्षेत्रको विकासलाई चिन्ता नगर्न आग्रह गरेका छन् । लुम्बिनी क्षेत्रको विकास गरी पर्यटकीय राजधानी विकास गर्ने आजकै मन्त्रिपरिषदको बैठकबाट निर्णय भएको उनले जानकारी समेत गराए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति